
काठमाडौं : नेपाली कांग्रेसमा आगामी १५औं महाधिवेशनको मिति तय गर्ने विषयमा दुई धार प्रष्ट भएका छन् । महामन्त्री गगनकुमार थापाले पुस १६ देखि १९ गतेभित्र महाधिवेशन गर्न प्रस्ताव गरेका छन् भने संस्थापन पक्षले आगामी वैशाख अन्तिम साता महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेको छ ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गरेका हुन् । उनले प्रतिनिधिसभा निर्वाचनअघि नै महाधिवेशन सम्पन्न गर्नुपर्ने तर्क राखेका छन् ।
यता, सहमहामन्त्री महेन्द्र यादवले सभापति शेरबहादुर देउवा पक्षको तर्फबाट वैशाख २७, २८ र २९ गतेसम्म महाधिवेशन गर्ने प्रस्तावसहित कार्यतालिका पेस गरेका छन् । सोमबार नयाँबानेश्वरमा बसेको संस्थापन पक्षीय बैठकले पनि वैशाख २५ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
कांग्रेसभित्र संस्थापन र संस्थापन–इतर समूहबीच महाधिवेशनको मिति र स्वरूपबारे मतभेद चुलिएको छ । गगन थापा र विश्वप्रकाश शर्मा सहितका नेताहरूले निर्वाचनअघि नै नियमित महाधिवेशन गर्नुपर्ने जोड दिँदै आएका छन् भने देउवा पक्ष फागुन २१ को निर्वाचनपछि मात्र महाधिवेशन गर्ने तयारीमा छ ।
यसअघि संस्थापन–इतर नेताहरूले विशेष महाधिवेशनको माग गर्दै करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ज्ञापनपत्रसमेत बुझाइसकेका छन् ।