
काठमाडौं : रुस–युक्रेन युद्ध ४४ महिनादेखि चलिरहेको छ । यसबीचमा दुवैतर्फ के कति क्षति भए यकिन विवरण आएका छैनन् । तर रुसी सेनामा भर्ती भएका १ सय १ जना नेपालीले भने ज्यान गुमाइसकेका छन् ।
परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागका अनुसार रुस–युक्रेन युद्धमा १ सय १ जना नेपालीले ज्यान गुमाएको पुष्टि भएको छ भने १ सय २५ जना बेपत्ता छन् । ३ सय ५० भन्दा बढीको खोजीका लागि आफन्तले निवेदन दिएका छन् ।
यसका बाबजुत रुसी सेनामा नेपालीहरूको भर्ती रोकिएको छैन । रुस–युक्रेन युद्ध सन् २०२२ को फेब्रुअरीमा पूर्ण स्तरमा सुरु भएको हो । त्यस यतादेखि नै नेपाली रुसी सेनामा भर्ना भएका हुन् ।
नेपाल सरकारले पनि सुरुदेखि नै रुस सेनामा नेपालीलाई भर्ना नगर्न आग्रह गर्दै आएको छ । तर रुसले नेपालको आग्रह सुनेको छैन ।
यसअघि २०८२ जेठ १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भ्यादिमिर पुटिनलाई नेपालीलाई रुसी सेनामा भर्ना नगर्न सन्देश पठाएका थिए । नेपाल र रुसबीच कुनै सैन्य सम्झौता नभएको भन्दै ओलीले यस्तो सन्देश दिएका हुन् ।
रुसी महासंघअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वलाई सरकारी निवास बालुवाटारमा भेट गर्दै तत्कालीन प्रधानमन्त्री ओलीले दिएको सन्देश कार्यान्वयनमा जान सकेन । रुसी सेनामा पुगेका नेपालीहरू अवैध बाटोबाट समेत पुगेका छन् । जसलाई नेपालले समेत रोक्न सकेको छैन । एकातिर सरकार अवैध रूपमा विदेश जानेलाई रोक्न सकिरहेको छैन भने अर्कोतिर कसरी अवैध रूपमा विदेश गएका छन् भनेर तथ्यांकसमेत राख्न सकेको छैन ।
नेपाल सरकारसँग रुसी सेनामा गएर घाइते, बेपत्ता भएकाहरूको तथ्यांक पनि छैन । परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागमा ३ सय ५० भन्दा बढीको खोजीका लागि आफन्तले निवेदन दिएका छन् । यसैलाई आधार मानेर सरकारले ३ सय ५० भन्दा बढी रुसी सेनामा कार्यरत रहेको हुन सक्ने अनुमान गर्ने गरिएको छ ।
तथापि सरकारको प्रयासअन्तर्गत कतिपय नेपाली स्वदेश फर्किएका छन् । रुसी सेनामा भर्ती भएकामध्ये करिब १ सय जना स्वदेश फर्किएका छन् ।
मृत्यु भएकाहरूमध्ये कतिपयको अस्तु मात्रै नेपाल आउने गरेको छ । २०८० साल फागुनमा भने सम्बन्धित परिवारको सहमतिमा तीन जना नेपालीको दाहसंस्कार रुसमै गरिएको थियो ।
मृतक नेपालीहरूको शव पठाउन र मृतकका परिवारलाई क्षतिपूर्ति दिन कूटनीतिक च्यानलमार्फत नेपाल सरकारका तर्फबाट रुस सरकारलाई पहिल समेत हुँदै आएको छ । मृतकका परिवारले क्षतिपूर्तिसमेत पाएका छन् । बेपत्ता भएकाहरूको सम्बन्धमा भने रुसी सरकार मौन रहँदै आएको छ ।
नेपालीहरू विगतमा बेलायती र भारतीय सेनामा भर्ती हुन्थे । दुवै देशमा सन्धिका आधारमा हुने गथ्र्याे । अन्य देशमा नेपालले सम्बन्धित देशको सेनामा नेपाली नागरिक भर्तीका लागि अनुमति छैन । तर रुसी सेनामा नेपालीको नयाँ भर्ती भने रोकिएको छैन । सरकारले अनुमति नरहेको भनेर जनचेतना फैलाउँदासमेत नेपाली गइरहेका छन् भने नेपाल सरकारले
रुसी सरकारलाई रुसी सेनामा नेपाली भर्ती नगर्न आग्रह गरे पनि भर्ती लिइरहेको छ ।
परराष्ट्र मन्त्रालयका अधिकारीहरू रुसी सेना नेपालीहरूको भर्ती रोकिएको जानकारीमा छैन । भर्ती भएकाहरूको पनि करार रद्द गर्न भनेको पनि रुसी सरकारले मानेको जानकारीमा छैन ।
कतिपय रुसी सेनामा भर्ती भएर रुसी नागरिकतासमेत लिएका छन् ।