
काठमाडौं : नेकपा माओवादी केन्द्र विभाजनको डिलमा पुगेको छ । नेकपा एकीकृत समाजवादीसँगको एकताको अन्तिम प्रयास भइरहँदा माओवादीका नेता जनार्दन शर्मा पक्षधर पार्टी विभाजनतिर लागेका हुन् । माओवादीको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पार्टी एकताको अन्तिम निर्णय गरेका छन् ।
सो निर्णयलाई लिएर नेता जनार्दन शर्माले नेकपा (एकीकृत समाजवादी)सँग प्रस्तावित पार्टी एकता प्रक्रिया तत्काल रोक्न माग गरेका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी महाधिवेशन आयोजक समितिको सचिवालय बैठकमा आफ्ना विचार राख्दै शर्माले हतारमा गरिने एकताले कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने र व्यक्तिगत स्वार्थ पूरा गर्ने मात्रै हुने बताए । शर्माले महाधिवेशनमार्फत वैचारिक बहस र प्रतिस्पर्धामूलक नेतृत्व निर्माणको प्रक्रिया अवरुद्ध पार्दै गरिएको एकता प्रस्तावलाई वैचारिक छलफलबाट भाग्ने प्रयासका रूपमा चित्रित गरेका छन् । उनले शहीद, बेपत्ता र घाइते योद्धाहरूको सपना र त्यागलाई बेवास्ता गर्दै गरिने यस्तो एकता प्रक्रियाले पार्टीलाई बलियो नभई अझ कमजोर बनाउने र कम्युनिस्ट आन्दोलनलाई विघटनको दिशामा धकेल्ने चेतावनी दिएका छन् ।
तत्काल एकता प्रक्रिया स्थगित गरी पार्टीको समग्र पुनर्गठन, वैचारिक स्पष्टता र जनपक्षीय दिशामा अघि बढ्न गम्भीरतापूर्वक आह्वान गरेका उनको भनाइ छ । वैचारिक स्पष्टता, विगतको समीक्षा र सांगठनिक तयारीबिनाको एकता ‘दीर्घकालीन दृष्टिले हानिकारक’ हुने उनको तर्क छ । ‘जनयुद्धको मर्म, संविधानको भावना र जनआकांक्षा अनुरूप समाजवादको आधार तयार पार्नुको सट्टा शीर्ष नेताहरू सुखसुविधा, पद, चाकडी र सत्ता मोहमा अल्झिँदा पार्टीको वैचारिक आधार र जनपक्षीय चरित्र कमजोर बनेको छ,’ उनले टिप्पणी गरे । भदौ २३ गते युवाहरूको जेनजी आन्दोलन विस्फोटन यसैको परिणामस्वरूप भएको उनको ठहर छ । पार्टीले जनाधार गुमाएको र विचारविपरीत गठबन्धनमार्फत अस्तित्व बचाउन बाध्य भएको उनको दाबी छ । ‘माओवादी विचार र पहिचानलाई परित्याग गर्दै बहुदलीय जनवादका आधारभूत मान्यतासँग आत्मसमर्पण गर्ने प्रवृत्तिले पार्टीको आधारभूत चरित्रलाई पूर्णरूपमा समाप्त पार्छ,’ उनले भनेका छन् । तर माओवादी प्रवक्ता अग्नि सापकोटाले माओवादी नफुट्ने दाबी गरेका छन् । प्रवक्ता सापकोटाले भने, ‘अध्यक्षसहित सबैले बस्नुस्, छलफल गरौं, छलफल गरेपछि निष्कर्षमा पुगौंला भनेका थियौं । उहाँको तरिका अराजक छ । तर फुट्दैन ।’
माओवादीसँगको एकतामा नेकपा एसमा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्यम भुसाल पक्षधर नेताहरू समेत नजाने भएका छन् । उनीहरू नेकपा एसलाई नै पुर्नगठन गर्ने भएका हुन् । महासचिव भुसालको नेतृत्वमा पार्टी पुनर्गठनको निर्णय गरिसकेका छन् । माओवादी केन्द्रसँग एकताको विपक्षमा १४ जना नेता खुलेका छन् । सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत र महासचिव घनश्याम भुसालसहितका नेता तत्काल एकताको विपक्षमा उभिएका हुन् । त्यस्तै, स्थायी कमिटी सदस्यमा विजय पौडेल, रामकुमारी झाँक्री र जीवनराम श्रेष्ठ रहेका छन् । पोलिटब्युरो सदस्य लक्ष्मण लम्साल, शिव भण्डारी, अब्दुल हुसैन, अशेष घिमिरे, दामोदर अर्याल, पोलिटब्युरो सदस्य धर्म निरौला, महेश रेग्मी र केन्द्रीय सदस्य आरती लामा छन् ।
लामो समयदेखि वाम तथा कम्युनिस्ट एकताको बहस चलाएको माओवादीले विप्लव नेतृत्वको माओवादीसँग समेत अन्तिम छलफलमा पुगेको बताएको थियो । तर विप्लवले आफ्नो दल निर्वाचन आयोगमा दर्ता गराइसकेका छन् । नेकपा एसका सम्मानित नेता झलनाथ खनालले आफू कम्युनिस्ट एकताकै पक्षमा रहे पनि माओवादीसँगको एकताको समय भइनसकेको बताएका छन् । यथास्थितिमा पार्टी एकता प्रक्रियामा नजाने अडान लिएका नेकपा एकीकृत समाजवादीका नेताहरूले शनिबार नै छुट्टै भेला गरेका नेकपा एस पुनर्गठनको निर्र्णय गरेको महासचिव घनश्याम भुसालले बताए । सुकेधारामा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसालसहित १ सय ७ जना केन्द्रीय सदस्यको भेला भएको थियो । यो भेलाले पार्टी पुनर्गठन र अरू वाम शक्तिसँग एकताका निम्ति संयोजन गर्ने जिम्मा महासचिव भुसाललाई दिएको छ । ‘सबै कम्युनिस्ट पार्टीको पुनर्गठन गरी शीर्ष नेतालाई फरक भूमिकामा राख्ने र बाँकीले कार्यकारी नेतृत्व लिने कामको पहलकदमी गर्ने जिम्मा महासचिव घनश्याम भुसाललाई दिइएको छ,’ पोलिटब्युरो सदस्य अशेष घिमिरेले भने । उनका अनुसार आजको भेलामा ८३ जनाले बोलेका थिए ।