२०८२ कार्तिक ९ गते आइतवार / Oct 26 , 2025 , Sunday
२०८२ कार्तिक ९ गते आइतवार
Ads

जले साढे ९ लाख मिसिल, साढे २६ हजार मुद्दाको फैसला प्रभावित हुन सक्ने

shivam cement
दिवाकर अधिकारी
२०८२ कार्तिक ९ गते ०६:३०
जले साढे ९ लाख मिसिल, साढे २६ हजार मुद्दाको फैसला प्रभावित हुन सक्ने

काठमाडौं : जेनजी आन्दोलन भएको डेढ महिना नाघ्यो । तर अझैसम्म उक्त आन्दोलनका क्रममा भएको भौतिक क्षतिको यकिन विवरण आउन सकेको छैन । खासगरी भदौ २४ गते देशभरका सरकारी र सार्वजनिक सम्पत्ति र संरचनामा आगजनी र तोडफेड भएका थिए । सम्बन्धित कार्यालयहरू क्षतिको आँकलन गर्नमा व्यस्त छन् । आन्दोलनका क्रममा अदालतसमेत सुरक्षित रहन सकेन । 

सर्वोच्च अदालतले संकलन गरेको क्षतिको विवरणअनुसार भदौ २४ गते सर्वोच्च अदालतसहित २३ वटा अदालतमा तोडफोड र आगजानी भएको छ । २३ वटा अदालतमा भएको तोडफोड र आगजनीका कारण कार्यालयहरूको भवन, मुद्दाका महत्वपूर्ण अभिलेख, चालु अवस्थामा रहेका मुद्दाका मिसिल, सवारी साधान र अन्य सामग्रीहरू जलेका छन् ।

सर्वोच्च अदालतले अन्य अदालतहरूबाट समेत लिएको विवरणअनुसार चालु अवस्थामा रहेका र अभिलेखमा पुगेका ९ लाख ३३ हजार ८ सय २३ वटा मिसिल जलेका छन् । यसको विवरण अझै थपिन सक्ने अदालत प्रशासनले जनाएको छ । यी झन्डै साढे ९ लाख  मिसिल विचाराधीन मुद्दासँग सम्बन्धित छन् । जलेका मिसिलमा फैसला हुन बाँकी विचाराधीन मुद्दाको संख्या २६ हजार ५ सय ६७ छ । अर्थात्, झन्डै साढे ९ लाख मिसिल जल्दा त्यसबाट साढे २६ हजार मुद्दाको फैसला प्रभावित हुन सक्ने प्रारम्भिक विवरण छ । 

सर्वोच्च अदालतले देशभरबाट संकलन गरेको प्रारम्भिक विवरण अदालत व्यवस्थापन समितिको बैठकमा पेस भएको छ । यी विवरणलाई अदालतले सरकार र जाँचबुझ आयोगमा समेत पठाउनेछ । 

सरकारले जेनजी आन्दोलनका क्रममा भदौ २३ गते भएको दमन र भोलिपल्ट भएको विध्वंश घटनाको छानबिन गर्न जाँचबुझ आयोग बनाएको छ । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठित समितिमा नेपाल प्रहरीका पूर्वएआइजी विज्ञानराज शर्मा र कानुनविद् विन्देश्वरी भण्डारी सदस्य छन् । यो आयोगले आन्दोलनका क्रममा भएको घटनाहरूको छानबिन गर्नेछ । अदालतमा के कति क्षति भयो भन्ने विवरण उपलब्ध हुँदा आयोगलाई काम गर्न र गहिराइमा पुग्न थप सहज हुने सर्वोच्च अदालत प्रशासनको विश्वास छ । सर्वोच्च अदालतको भने सबैजसो मिसिल जलेका छन् । अदालत प्रशासनका अनुसार सर्वोच्चमा भदौ २३ गतेसम्म २४ हजार २ सय ३४ वटा मुद्दा विचाराधीन थिए । त्यसमध्ये २० हजार ३४ वटा विचाराधीन मुद्दाको मिसिल जलेको छ । ४ हजार २ सय मुद्दाका मिसिल भने बचेका छन् । बचेका मिलिलमा रिटतर्फ २ हजार ५ सय ९ र मुद्दाका एक हजार ६ सय ९१ थान मिसिल रहेका छन् । 

मिसिलका अलावा अदालतका अन्य क्षतिको विवरण समेत संकलन भएको छ । २३ वटा अदालतका १० वटा भवन काम नलाग्ने गरी जलेका छन् । सर्वोच्च अदालतकै एनेक्स बाहेक कुनै पनि भवन काम लाग्ने अवस्थामा छैनन् । उच्च अदालत तुलसीपुर, उच्च अदालत बुटवल र उच्च अदालत पाटनको हेटौँडा इजलासको भवन काम नलाग्ने गरी जलेको छ । काठमाडौं, मोरङ, चितवन, कास्की, तनहुँ र बाँके जिल्ला अदालतका भवन पनि प्रयोग गर्न नमिल्ने गरी जलेको छ । 

अदालतको भवन जल्दा कार्यालयमा रहेका उपकरणहरू पनि जलेका छन् । डेस्कटप कम्प्युटर मात्रै एक हजार ४ सय ९२ थान जलेका छन् । जसमा सर्वोच्च अदालतका मात्रै सात सय ९ वटा रहेका छन् । ६ सय ३५ वटा ल्यापटप जलेका छन् । प्रिन्टर आठ सय ५४ वटा जलेका छन् । अभिलेख स्क्यानर मेसिन २३ वटा जेलका छन् । चास सय ४५ वटा सिसी क्यामेरा जलेका छन् । भिडियो कन्फरेन्स सेट ८६ वटा जलेका छन् । १ सय ९५ वटा डिस्प्ले टिभी, एक हजार एक सय ११ थान युपिएस, ३८ वटा फोटोकपी मेसिन, ६ वटा जेनेरेटर, एसी ३ सय ३९ र ८१ थान इहाजिरी जलेका छन् । 

अदालतमा तोडफोड र आगजनी हुँदा परिसरमा रहेका सवारी साधनमा समेत क्षति पुगेको छ । २३ वटै अदालतको गरेर चार सय २२ सवारी सधान नष्ट भएका छन् । २ सय २३ वटा मोटरसाइकल काम नलाग्ने गरी जलेका छन् । ७० वटा स्कुटर पनि जलेर नष्ट भएको छ ।

ADV

सम्बन्धित खबर

Advertise