कैलाली : कैलालीको गौरीगङ्गा नगरपालिकाले वन्यजन्तु हिँड्ने मुख्य बाटोमै फोहोर बिसर्जन गर्दै आएको खुलेको छ । अस्थायी रूपमा अनुमति लिएर बनाइएको भनिएको डम्पिङ साइट नौ वर्षदेखि नहटाइँदा वसन्ता जैविक मार्गमा आवतजावत गर्ने पाटेबाघलगायतका वन्यजन्तु प्रभावित भएका छन् ।
गौरीगङ्गा नगरपालिका–४ र ८ बीच पर्ने गौरी गणेश तथा हरियाली वसन्ता सामुदायिक वनको सीमाभित्र नगरपालिकाले डम्पिङ साइट बनाएको हो ।
सो क्षेत्र वसन्ता जैविक मार्गको सहायक बाटोका रूपमा चिनिन्छ, जहाँ बर्सेनि पाटेबाघले आवतजावत गर्दै आएको छ । सामुदायिक वन समन्वय समिति मसुरियाका अध्यक्ष ओमप्रकाश सापकोटाका अनुसार नगरपालिकाले बाघ हिँड्ने बाटोमै फोहोर फ्याँक्दा त्यसले वन्यजन्तुको स्वास्थ्यमा प्रतिकूल असर पारेको छ ।
“बढैपुर–राजीपुर क्षेत्रको जंगलमा फ्याँकिएको फोहोरले बाघलगायत जनावरलाई असर पुर्याएको छ,” सापकोटाले भने, “नगरपालिकाले जलाएको फोहोरका कारण यस वर्ष डढेलो समेत सल्किएको छ ।”
उनका अनुसार सो क्षेत्रमा करिब आठ वर्षसम्म डढेलो लागेको थिएन, तर यसपटक फोहोर जलाउँदा वन क्षेत्र मात्र नभई जनावर पनि प्रभावित भएका छन् । “बाघ दुर्गन्धरहित क्षेत्रमा बस्ने जनावर हो,” उनले थपे, “फोहोरको दुर्गन्धले बाघको बासस्थानमै असर परेको छ ।”
पूर्व जिल्ला वन अधिकृत रमेश चन्द ठकुरीका अनुसार वसन्ता जैविक मार्गसँग जोडिएको सहायक मार्गमा जथाभावी फोहोर फाल्नु अत्यन्त गलत अभ्यास हो । “मानव स्वास्थ्यभन्दा बढी वन्यजन्तु प्रभावित भएका छन्,” ठकुरीले भने, “नगरपालिकाले तुरुन्तै डम्पिङ साइट हटाएर फोहोर व्यवस्थापनलाई सही ढंगले गर्नुपर्छ ।”
डिभिजन वन कार्यालय कैलालीका प्रमुख कृष्णदत्त भट्टले पनि नगरपालिकाले सामुदायिक वन क्षेत्रमै मापदण्डविपरीत डम्पिङ साइट बनाएर गल्ती गरेको स्वीकार गरेका छन् । “हामीले पटक–पटक हटाउन निर्देशन दिएका छौं, तर पालिकाले बेवास्ता गर्दै आएको छ,” उनले भने ।
गौरिगङ्गा नगरपालिकाका उपप्रमुख भोजबहादुर बमले आफू निर्वाचित हुनु अघि नै सो स्थानमा डम्पिङ साइट रहेको बताए । “हामीले आधिकारिक स्वीकृति लिएका छैनौं, तर अन्य ठाउँ नपाएपछि केही समयका लागि सामुदायिक वनमै फ्याँकिएको हो,” उनले भने ।
उनले वातावरणीय असर परेको स्वीकार गर्दै, “अब फोहोर व्यवस्थापनका लागि नयाँ जमिन खोज्दैछौं,” भने ।
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले पालिकाहरुलाई भोगाधिकारबिना जंगलमा फोहोर फाल्ने अधिकार नभएको स्पष्ट पारे । “डम्पिङ साइट घेरबारबिना खुला छ, फोहोर छनोट वा प्रशोधन भइरहेको छैन,” उनले बताए, “प्लास्टिकजन्य पदार्थ खाँदा वन्यजन्तु बिरामी पर्ने जोखिम अत्यधिक छ ।”
सामुदायिक वन समन्वय समितिका अध्यक्ष सापकोटाका अनुसार जथाभावी फोहोरले वसन्ता करिडोरको सहायक मार्गमा बसोबास गर्ने पाटेबाघ, मृग, चित्तल, बँदेल, निलगाई र बाँदरलगायत जनावरहरू प्रभावित छन् ।
“प्लास्टिक र सिसाले जंगल कुरुप हुँदै गएको छ,” उनले भने, “यी पदार्थ खाँदा जनावर बिरामी पर्ने र मृत्यु हुने जोखिम बढ्दो छ ।”
यस्तै घोडाघोडी र लम्कीचुहा नगरपालिकाले समेत भोगाधिकारबिना सामुदायिक वनभित्र डम्पिङ साइट बनाएका छन्, जसले वन वातावरण संरक्षणमा गम्भीर चुनौती सिर्जना गरेको विज्ञहरू बताउँछन् ।