काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार फागुन २१ मा चुनाव गराउने पक्षमै नरहेको दाबी गरेका छन् । आज पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सरकारले दलहरूलाई चुनावमा भाग लिनै नदिन खोजेकोसमेत उनले बताए । उनले भने, ‘फागुन २१ मा चुनाव गर्ने, राजनीतिक दलहरूसँग संवाद नगर्ने, निषेध गर्ने, दमन गर्ने, अनि फागुन २१ मा चुनाव हुन्छ रे। यो चुनाव हुनेवाला छैन । त्यसैले हामीले संसद् पुनर्स्थापना भनेका हौँ ।’
सरकारले फागुन २१ मै चुनाव हुन्छ भनेर जनतालाई ढाटेको जिकिर गरे । शान्ति सुरक्षा कायम नभएसम्म चुनाव हुनै नसक्ने बताए । अपराधीहरू हतियारसहित फरार भएकाले जनताले आफ्नो सुरक्षा आफैँ गर्नुपर्ने अवस्था रहेको बेलामा चुनावको कल्पना समेत गर्न नसकिने बताएका छन् ।