काठमाडौंः नेकपा एमालेका नेता महेश बर्तौलाले मुलुक अहिले असंवैधानिक र अलोकतान्त्रिक मार्गबाट अघि बढिरहेको बताएका छन् ।
बिहीवार केन्द्रीय कमिटीको बैठकस्थलमा उनले यस्तो बताएका हुन् । उनले यसलाई संवैधानिक र लोकतान्त्रिक मार्गमा ल्याउनु अहिलेको मुख्य कार्यभार भएको जिकिर गरे । निर्वाचन र संसद पुनःस्थापनाको बाटोबाटै यसलाई सही दिशामा लैजान सकिने बताए ।
सरकारको गतिविधि र क्रियाकलाप नियाल्दा तोकिएको मितिमा निर्वाचन हुने अवस्था नदेखिएको दाबी गर्दै सरकार मुलुकमा भयको साम्राज्य सिर्जना गरेर त्यसमार्फत आफ्नो आयु लम्ब्याउने चालमा रहेको आरोप लगाए । सरकार राजनीतिक दलहरुसँग संवाद गरेर सहमतिको बाटोमा अघि बढ्नुको सट्टा निषेधका रुपमा अघि बढेको बताए । असंवैधानिक ढंगबाट बनेको सरकारले फागुन २१ मा निर्वाचन नगराउने कुरा घाम जत्तिकै छर्लङ्ग रहेको बताए । देश थप दुर्घटनातिर जानसक्ने अवस्था रहेको बताए । नेकपा एमाले निर्वाचन जनताको बीचमा गएर परिचित हुने हरेक कुरालाई स्वीकार गर्ने जिकिर गरे ।
उनले संसदको पुनःस्थापना भनेर मात्रै नपुग्ने भन्दै संसद पुनःस्थापना भएपछि के गर्ने भन्नेकुरा पनि स्पष्ट हुनुपर्ने बताए । पुनःस्थापित संसदमा रहेका सबै राजनीतिक दलहरुको सर्वदलीय सरकार निर्माण गर्ने, संविधानको संशोधन के विषयमा गर्ने भन्नेमा विषयवस्तु किटान गर्नुपर्ने बताए । दलीय सरकारको नेतृत्वमा ताजा जनादेशको लागि मध्यावधिमा देशलाई लैजानुपर्ने बताए । त्यसो भएको खण्डमा मात्रै जेन जीका मागहरु सम्बोधन हुने बताए ।