धादिङ : नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमालेसँगको सम्भावित एकता सम्बन्धमा स्पष्ट संकेत दिएका छन् । धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा संयोजक प्रचण्डले युवा तथा पार्टी नेताकार्यकर्तासँग कुराकानी गर्दै आगामी चुनावलाई पार्टीको प्रमुख एजेन्डा बनाउँदै अघि बढ्ने बताए ।
उनले भने, 'अबको माओवादीको लाइन भनेको चुनाव हो ।' साथै, तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्ने जानकारी प्रचण्डले दिए । एमालेसँग एकताको सम्भावनाबारे बोल्दै उनले स्पष्ट पारे, 'केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन । तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ ।'
कार्यक्रममा सहभागी युवा तथा नेता कार्यकताहरूसँगको छलफल गर्दै प्रचण्डले युवा पुस्ताले माओवादीको विचार र मार्गदर्शनलाई सही ठहर गर्न थालेको बताए । उनले भने, 'अहिले मेरो जेन्जी युवाहरुसँग पनि छ्लफल भइरहेको छ । युवाहरुले माओवादी सही रहेछ भन्ने बुझ्नुभएको छ ।' उक्त भेटघाटमा उनले नेताकार्यकर्ताहरूलाई आगामी निर्वाचनका लागि योजनाबद्ध रूपमा लाग्न निर्देशन दिएका थिए ।