२०८२ असोज २९ गते बुधवार / Oct 15 , 2025 , Wednesday
२०८२ असोज २९ गते बुधवार
Ads

‘सेरेमोनियल’ शेरबहादुर, पूर्णबहादुरलाई कार्यवाहक

shivam cement
जीवन शर्मा
२०८२ असोज २९ गते ०६:२५
‘सेरेमोनियल’ शेरबहादुर, पूर्णबहादुरलाई कार्यवाहक

काठमाडौं : नेपाली राजनीतिलाई लामो समय आफ्नै वरिपरि घुमाउन सफल पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अन्ततः ‘सेरेमोनियल’ बनेका छन् । पछिल्लो समय राजनीतिक रूपमा सफलता पाउन सकस भएसँगै उनले मंगलबारको पार्टी बैठकमा कार्यकारी जिम्मेवारीबाट अगल रहने निर्णय लिए । देउवाले आफू अभिभावकीय भूमिकामा रहँदै पार्टी सञ्चालनको कार्यभार उपसभापति पूर्णबहादुर खड्का जिम्मा लगाएका छन् ।   

गत भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा घरमै रहेकाबेला आगजनी, तोडफोड र  निर्घात कुटपिटको सामना गरेका देउवालमाथि नेतृत्व छोड्नुपर्ने चौतर्फी दबाब थियो । देउवा दुईपटक सभापति र पाँचपटक प्रधानमन्त्री बनिसकेका छन् । पछिल्लोपटक उनलाई सभापतिबाट हटाउन महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मासहित नेताहरूले विशेष महाधिवेशनको प्रस्ताव गरेका थिए । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन भइसकेको उनीहरूको दाबी छ । सो हस्ताक्षर पार्टीमा बुझाउने तयारी भए पनि पार्टीमा दर्ज पाएन ।

मंगलबार सानेपामा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा सभापति देउवाले कार्यकारी जिम्मेवारीबाट अगल रहने निर्णय लिए । मंगलबारको बैठकमा सभापतिले सम्बोधन गरेपछि बैठक ३० गतेका लागि सरेको छ । केन्द्रीय समिति बैठकमा साझा प्रस्ताव पेस गर्न कार्यसम्पादन समितिलाई एक दिनको समय दिइएको छ । आज अनौपचारिक छलफल गरेर ३० गते केन्द्रीय समिति बैठकमा साझा प्रस्ताव लैजाने तयारी भइरहेको बताइएको छ ।  

देशको राजनीतिक उलटफेरसँगै मानवीय तथा भौतिक क्षति भएको एक महिनापछि मंगलबार पहिलोपटक सार्वजनिक भएका देउवाले मुख्यतया चारवटा विषयमाथि गम्भीर बने । मुलुक र कांग्रेस पार्टी जीवनमा महत्व राख्ने चारवटै विषयलाई उनले केन्द्रीय समितिको बैठकमा राखेपछि कांग्रेसमा समेत केही सकारात्मक सञ्चारको सन्देश दिएको नेताहरूले बताएका छन् । 

महामन्त्री गगन थापाले पार्टी सभापतिले बाँकी रहेका जिम्मेवारी पूरा गर्न केन्द्रीय कार्यसमितिलाई जिम्मेवारी छाडेर गएको बताएका छन् । उनले भने, ‘सभापतिको हैसियतमा केन्द्रीय कार्यसमितिमा आज एकप्रकारले अन्तिम उपस्थिति रह्यो । उहाँले पार्टी सभापतिको रूपमा महत्वपूर्ण निर्देशन र घोषणा पनि गर्नुभयो । त्यसलाई सम्मान गर्दै आजको बैठक एजेन्डामा प्रवेश गरेन ।’ 

बैठकको प्रारम्भमा जेनजी पुस्ताले उठाएका माग जायज भए पनि आन्दोलनलाई हिंसात्मक बनाउन घुसपैठ गरेर मुलुकलाई तहसनहस बनाएको घटनाप्रति कडा निन्दा र भ्रत्सना  गरे । दोस्रो, विधानले तोकेको अवधिभित्र १५औं महाधिवेशन गर्ने प्रतिबद्धता जनाए । तेस्रो, फागुन २१ गतेका लागि घोषित प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले भाग लिने उल्लेख गर्दै देशलाई संवैधानिक बाटोमा फर्काउने आधार नै निर्वाचन भएको दाबीसमेत गरे । र चौथोमा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने घोषणा गरेका छन् । यी विषय मुलुक र पार्टीका लागि महत्वपूर्ण रहेको नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए । 

‘जेजनी आन्दोलनका क्रममा घाइते हुनुभएका सभापति देउवाले आफू अभिभावक बनेर पार्टी सञ्चालनको जिम्मा उपसभापति पूर्णबहादुर खड्कालाई हस्तान्तरणसहित विधानबमोजिम महाधिवेशन गर्ने तयारी गर्न नेताहरूलाई निर्देशन दिनुभएको छ’, उनले भने, ‘सभापतिको कदमले पछिल्लो समय कांग्रेसलाई ‘सुरक्षित अवतरण’का लागि सहजीकरण गरेको छ ।’ 

कार्यसमितिमा साझा प्रस्ताव पेस गर्ने तयार गर्न एक दिनको समय आवश्यक परेकाले एक दिन समय छुट्याएर ३० गतेका लागि बैठक सारेको उनले बताए । २९ मा अनौपचारिक छलफल गरी ३० गतेको बैठकमा साझा प्रस्ताव लैजाने तयारी भइरहेको । ‘अबका सबै बैठकको सभापतित्व कार्यवाहक सभापति खड्काले नै गर्नुहुन्छ,’ उनले मध्यान्हसँग भने, ‘सभापति देउवा अभिभावकको भूमिकामा रहेर आवश्यक सहयोग गर्नुहुन्छ ।’

२०२८ सालमा नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदै पार्टी राजनीतिमा आएका देउवा प्रजातन्त्र प्राप्तिपछि सधंैजसो सत्ता र शक्तिमै थिए । २०४८ सालमा गृहमन्त्री हुँदै २०५२ मा पहिलोपटक प्रधानमन्त्री बनेका देउवा गिरिजाप्रसाद कोइरालासँगको राजनीतिक टसल बढ्दा पार्टी फुटाएर प्रजातान्त्रिक कांग्रेसको सभापति बनेका थिए ।  पार्टी एकीकरणपश्चात् वरिष्ठ नेताको भूमिकामा रहँदै २०७३ मा भएको १३औं महाधिवेशनबाट सभापति बनेका उनी २०७८ मा भएको १४औं महाधिवेशनमा सभापति दोहोरिएर शक्तिशाली सभापति बनेका थिए । केन्द्रीय समितिमा उनको पक्षमा दुई तिहाइ बहुमत छ ।

तर पछिल्लो परिस्थितिलाई मूल्यांकन गरेर देउवाले आफू अभिभावक बनेको नेताहरू बताउँछन् । पछिल्लो कार्यकालमा पार्टीलाई संसदमा ठुलो दल बनाएर पनि प्रधानमन्त्री बन्न नसकेका देउवाको अन्तिम इच्छा छैटौंपटक प्रधानमन्त्री बन्ने थियो । पछिल्लो एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई पार्टीभित्र र बाहिरबाट निरन्तर प्रहार भइरहँदा पनि आगामी १० महिनापछि प्रधानमन्त्री बन्ने आशामा रहेका देउवाले सबै प्रहारप्रति ढाल बनेर ओली सरकारको बचाउमा लागेका थिए । ओलीसँगको सहमतिअनुसार २०८३ असारमा ओलीकै प्रस्तावमा प्रधानमन्त्री बन्ने देउवालाई ढुक्क थियो । यद्यपि जेजनी आन्दोलनले उनको सफना चकनाचुर बनाइदिएको राजनीतिक विश्लेषकहरूले टिप्पणी गर्ने गरेका छन् । देउवाको पछिल्लो कदमलाई पार्टीभित्र र बाहिरबाट प्रशंसा गरिएको छ ।

न्याय माग्ने तहमा पुगेका देउवा   

मुलुकको पाँचपटक प्रधानमन्त्री बनेका कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूमाथि अन्याय भएको दाबी गरेका छन् । भदौ २२ सम्म देश र जनतालाई न्याय, सुशासन र सेवाप्रवाह गर्ने भूमिकामा रहेका देउवालाई भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनले एकाएक न्याय माग्ने ठाउँमा पुर्‍याएको हो ।    

प्रजातन्त्र प्राप्तिपछि राज्य सत्ताका विभिन्न पदीय जिम्मेवारीमा रहेर अरूलाई न्याय दिने हैसियत बनाएका थिए । तर देउवा र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली एकाएक आफैं न्याय माग्नुपर्ने तहमा पुगेसँगै पुराना नेताहरूका लागि न्याय पाउने विषयसमेत चुनौतीपूर्ण बनेको छ । सभापति देउवाले मंगलबार कांग्रेस केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै नियोजित रूपमा ज्यान लिने प्रयास भएको भन्दै वास्तविकता छानबिन गरी कारबाही गर्नुपर्ने सरकारसँग माग गरेका छन् । 

आफूविरुद्ध फेक भिडियो बनाएर चरित्र हत्या गर्ने काम भएको पनि उनले गुनासो गरे । २४ भदौमा जेनजी आन्दोलनकारीले सार्वजनिक सम्पत्ति र नेताका निजी घरमाथिको तोडफोड तथा आगजनीबाट ध्वस्त बनाएका थिए । आन्दोलनलाई थाम्न नसकेर कांग्रेसको मुख्य सहयोगमा बनेको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो । ओलीले राजीनामा दिइसकेपछि समेत जेनजीको निशानामा परेका देउवासहित सयौं नेताहरूको घर जलाइएको छ । २३ गतेको आन्दोलनमा युवाहरूले ज्यान गुमाउनुपरेकोप्रति दुखः व्यक्त गरेका देउवाले सरकारी सार्वजनिक र व्यक्तिका सम्पत्ति ध्वस्त भएकोप्रति चिन्ता प्रकट गरेका छन् ।    

जेनजी आन्दोलनका नाममा घुसपैठ भएर षड्यन्त्रपूर्वक ढंगले आफ्नो हत्या गर्नेसम्मको योजनाप्रति अहिलेको सरकारले तथ्यगत अध्ययन गरेर कारबाही गर्नुपर्ने उनको माग छ  । देउवाले आफ्नो निवासको फेक भिडिओ (एआईमार्फत) बनाएर आफ्नो चरित्र हत्या गर्न खोजिएको दाबी गरे । उनले भनेका छन्, ‘मेरो घरमा जलेको अवस्थामा पैसा फेला परेको भनी आएका भिडिओ एआईको प्रयोग गरी बनाइएको हो । भिडिओ छ नि जो, मेरो घरमा भेटेको भनेको त्यो (पैसा) फेक भिडिओ बनाएर मेरा खिलापमा गरिएको हो त्यो । ‘अरू देशको भिडिओबाट काटेर ल्याएर एआईबाट भिडिओ बनाएको छ । मेरो चरित्रहत्या गरिएको छ, यसबारे छानबिन होस् ।’

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise