२०८२ असोज २८ गते मङ्गलवार / Oct 14 , 2025 , Tuesday
२०८२ असोज २८ गते मङ्गलवार
Ads

'जेनजी विद्रोहबाट प्रेरित जनस्वराज पार्टीको नयाँ यात्रा सुरु'

shivam cement
मध्यान्ह
२०८२ असोज २८ गते १६:५६
'जेनजी विद्रोहबाट प्रेरित जनस्वराज पार्टीको नयाँ यात्रा सुरु'

काठमाडौं : जनस्वराज पार्टीले नयाँ राजनीतिक यात्रा सुरु गर्दै जेनजी विद्रोहबाट प्रेरित स्वराजको अवधारणालाई अगाडि सारेको छ । यो पार्टी सिके राउत नेतृत्वको जनमत पार्टीबाट फुटेर बनेको हो र निर्वाचन आयोगमा दर्ता भइसकेको छ । जनस्वराज पार्टीले "समृद्धि, सामाजिक न्याय र जनताको पूर्ण स्वशासन"लाई वैचारिक आधार बनाएको छ।

पार्टीका अध्यक्ष ई. दीपक कुमार साहले विज्ञप्तिमा जनमत पार्टीबाट विभाजन भएर नयाँ बाटो रोजेको बताउँदै भनेका छन्, "जेनजीको विद्रोहलाई मूल्यपरक जागरण ठान्छौं । यो परिवर्तनको अन्तिम दस्तक हो । हामी पुराना वाचाहरू होइन, नयाँ पुस्ताको व्यवहारिक समाधान र सहभागी नेतृत्वको राजनीतिक संस्कृति निर्माण गर्न कटिबद्ध छौं ।" साह जनमत पार्टीका उपाध्यक्ष थिए ।

जनस्वराज पार्टीले परिवर्तनका लागि पाँच प्रमुख बुँदामा जोड दिएको छ :

व्यक्तित्व विकास र नैतिक क्रान्ति: युवाहरूलाई नेतृत्व बन्न सक्षम बनाउन शिक्षा, तालिम र प्लेटफर्म प्रदान गर्ने ।

पारदर्शिता र शून्य भ्रष्टाचार: पदलाई शक्ति होइन, जिम्मेवारी ठान्ने संस्कार विकास ।

बराबरी र न्यायमा आधारित समावेशिता: जात, लिंग, भाषा, धर्म वा क्षेत्रमा कुनै विभेद नहुने ।

आर्थिक स्वतन्त्रता र रोजगारी: स्वदेशमै अवसर सिर्जना गरी युवालाई 'रोजगार दिने शक्ति' बनाउने, विदेश पलायन रोक्ने ।

पर्यावरण र भविष्य सुरक्षा: टिकाउ नीतिहरूबाट Gen Z का लागि २०–३० वर्ष पछिको नेपाल सुनिश्चित गर्ने ।

पार्टीले राष्ट्र र मधेशका सन्तुलित हितमा विश्वास व्यक्त गर्दै मधेशको सम्मान, पहाडको मर्यादा, हिमालको गौरव र सम्पूर्ण नेपालीको अस्मितालाई एक सूत्रमा बाँध्ने प्रतिबद्धता व्यक्त गरेको छ । "पुराना पुस्तालाई अस्वीकार गर्दैनौं, तर उनीहरूले सुरु गरेको परिवर्तन नयाँ पुस्ताले पूरा गर्नुपर्छ," विज्ञप्तिमा उल्लेख छ ।

नेपालको सात दशक लामो राजनीतिक संघर्षले २००७ को क्रान्तिदेखि २०४६ को जनआन्दोलन, दश वर्षे जनयुद्ध, मधेश विद्रोह र आदिवासी जनजाति, दलित, महिला, मुस्लिमजस्ता उत्पीडित समुदायका आन्दोलनहरूबाट २०७२ असोज ३ मा संविधान जारी गरी समाजवाद उन्मुख समावेशी लोकतन्त्रको आधार तयार पारेको छ ।

तर गणतन्त्रका वर्षहरूमा सुशासनको अभावले जनअसन्तुष्टि बढेको छ । भदौ २३–२४ को जेनजी विद्रोहले ईमानदार नेतृत्व, जवाफदेही शासन र परिणाममुखी नीति मागेको पार्टीले जोड दिएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise