काठमाडौं : नेपालका कम्युनिस्ट एवं वामपन्थी दलबीच पार्टी एकताको बहस चलेको लामो समय भए पनि कार्यान्वयनको विषय अझै अमूर्त छ । कम्युनिस्ट तथा वाम एकताबाट समाजवादको बाटो तय गर्ने भनेका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा (विप्लव समूह) र नेसपाबीच हुने भनिएको पार्टी एकताको विषयले मूर्तरूप लिन सकेको छैन ।
विचार–सिद्धान्त मिल्ने पार्टीहरूबीच एकता गरेर अघि बढ्ने निर्णय गरेसँगै एकता प्रक्रियाको औपचारिक छलफलको सुरुवात भएको थियो । तर पछिल्लो पटक यो विषय पुनः ओझेलमा परेको स्वयं नेताहरू बताउँछन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमले पुराना दलहरूमा रूपान्तरण र एकताका लागि थप दबाब बढेको छ । राजनीतिमा उदाउँदै गरेका नयाँ शक्ति र पछिल्लो जेनजी मुभमेन्टबाट आएकाहरू समूहसमेत पुराना दलका लागि चुनौती बनेका छन् । यससँगै एकताको गृहकार्यका लागि तीव्रता दिएका वामदलबीच परिणाम निस्कने कुनै आधार तय भएको छैन । एकताको विषयमा विभिन्न दलबीच छलफल भए पनि परिणाम दिने गतिमा जान नसकेको नेकपा माओवादीका नेताहरूले दाबी गरे ।
देशभक्त र वामपन्थी पार्टीबीच सहकार्य एवं एकताबारे छलफल भए पनि अहिले केही निष्कर्षमा नपुगेको माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले बताए । उनले मध्यान्हसँग भने, ‘पार्टी एकताका लागि को–को तयार भएका हुन् र ती दलबीच के कसरी एकताको प्रक्रिया टुंग्याउने भन्ने विषयमा निष्कर्षमा पुुगिसकेको अवस्था छैन । परिणाम दिने गतिमा वार्त अघि बढेको छैन ।’ यो विषयमा पार्टीभित्र र बाहिरका दलबीच छलफल चलिरहे पनि नटुंगिएको उनको भनाइ छ ।
माओवादीले वर्षौंदेखि राखेको विचार मिल्ने पार्टी वा समूहबीच सहकार्य र पार्टी एकता गर्ने विषयले पटकपटक चर्चा पाए पनि पार्टी एकता चर्चामै सीमित रहेको छ । गत साउन १९ गते सम्पन्न माओवादीको स्थायी समिति बैठकले नेकपालगायत कम्युनिस्ट पार्टीहरूसँग एकता गर्ने निर्णय गरेको थियो । पार्टी एकताका आधारभूत पक्ष मिलाउन डेढ वर्षअघि नै वार्ता समिति बनाएर अघि बढेको माओवादी पछिल्लोपटक विप्लव समूहको नेकपाबीच एकताको अन्तिम छलफलको चरणमा रहेको थियो । यद्यपि त्यो प्रयाससमेत सफल नभई नेताहरूबीच संवादहीनताको अवस्थामा थियो ।
पछिल्लो जेजनी आन्दोलनका कारण कम्युनिस्ट पार्टीलाई मजबुद बनाउन एकताको विकल्प नभएको निष्कर्षसहित माओवादीसहित नेकपा एस र नेकपा (विप्लव)बीचको छलफल निकै अघि बढिसके पनि केही दिनयता यो विषय फेरि सेलाएको छ । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले आफ्नो नीति, विचार, सिद्धान्त, कार्यक्रम र कार्यदिशासँग सहमत हुने वामपन्थी, कम्युनिस्ट तथा समाजवादी पार्टी र समूहहरूसँग पार्टी एकता गर्न र अन्य पार्टी र समूहहरूसँग वर्तमान सन्दर्भमा सहकार्य गर्न पार्टीका तर्फबाट पहलकदमी अघि बढाउने निर्णय भएको समाजवादीका नेताहरूले दाबी गरेका छन् ।
एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाले कम्युनिस्ट पार्टीले समेत एकताका लागि औपचारिक निर्णय गरिसकेका छन् । भदौ ३ गते बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले सम्पूर्ण कम्युनिस्ट, वामपन्थी तथा समाजवादी शक्ति र पार्टीहरूलाई एकताबद्ध भएर अघि बढ्न औपचारिक अपिल जारी गरेको थियो । त्यसयता नेताहरूबीच बाक्लो छलफल भए पनि निर्णयमा पुग्न नसकेको नेकपा एकीकृत समाजवादीका वार्ता समिति संयोजक डा. बेदुराम भुषालले बताए । उनले भने, ‘मुलुकमा उत्पन्न विषम परिस्थितिमा वामपन्थी शक्ति गम्भीर हुनु जरुरी छ । यस्तो चुनौतीपूर्ण परिस्थितिमा कम्युनिस्ट आन्दोलन तथा राष्ट्रिय स्वाधीनता र जनक्रान्तिका उपलब्धि रक्षा गर्न सम्पूर्ण कम्युनिस्ट, वामपन्थी तथा समाजवादी शक्ति र पार्टीहरूलाई एकताबद्ध भएर अघि बढ्ने निर्णय गरेका हौं । सोहीअनुसार छलफल अघि बढिरहेको छ ।’
यस्तै, नेकपा (विप्लव)ले पनि कम्युनिस्ट एकता गर्ने पार्टी बैठकबाटै निर्णय गरेर एकताका लागि वार्ता टोली नै गठन गरेर एकता प्रक्रियाको सुरुवात गरेको छ । भदौ २३ देखि २६ सम्म कपिलवस्तुमा बसेको केन्द्रीय समिति बैठकले माओवादी केन्द्रसहित विभिन्न कम्युनिस्ट पार्टीसँग एकता र ध्रुवीकरणका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा तीन सदस्य वार्ता समिति गठन गरेको नेकपाले जनाएको छ । नेता विश्वकर्माले भने, ‘माओवादी केन्द्रलगायत कम्युनिस्ट पार्टीसँग एकता, ध्रुवीकरणबारे छलफल गर्न अहिलेलाई मेरो संयोजकत्वमा तीन सदस्य वार्ता टोली बनाइएको छ । हामी सबै कम्युनिस्ट तथा वामपन्थी दलहरूसँग एकताका लागि आवश्यक छलफलमै छौं । एकताको अहिले मापदण्ड अहिले नै बनाइएको छैन ।’
यसअघि लामो समयदेखि पार्टी एकताको विषयमा समाजवादी मोर्चाका घटकबीच पटकपटक छलफलसमेत हुँदै आएको छ । समाजवादी मोर्चामा माओवादीसहित एकीकृत समाजवादी, नेकपा र महिन्द्रराय यादव नेतृत्वको नेसपा रहेका छन् । मोर्चामा रहेको दल नेसपाका अध्यक्ष यादवले पनि समाजवादी मोर्चाका घटकबीच एकताको विषयमा छलफल भइरहेको बताउँदै आएका छन् । पार्टी एकताका सवालमा दलहरूबीच व्यापक छलफल जारी राखेको बताइए पनि अहिले नै एकता भइहाल्ने अवस्था नरहेको नेताहरूको भनाइले पुष्टि गरेको छ । नेकपा एसका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले एकताका विषयमा एक मत नभएका कारण समान मत निर्माण गर्न निरन्तर छलफल भइरहेको बताएका छन् । ‘मुख्य कुरा एकता हुन्छ कि हुँदैन भन्ने हो । एकता हुने भएमा एकता गर्ने दलको स्वरूप कस्तो हुने भन्ने विषयमा छलफल होला, अहिले हामीले त्यस्तो छलफल चलाएका छैनौं ।’