काठमाडौं : दसैं मनाउन काठमाडौंबाट मुलुकका विभिन्न स्थानमा जाने यात्रुको संख्या ह्वात्तै बढेको छ । दसैंका लागि सहरबाट गाउँ जाने चलनले एक सातायता सवारीसाधनको चाप बढेको हो ।
जेनजी आन्दोलनका कारण विश्वविद्यायल तथा निजी कलेजले बिदा दिएपछि उपत्यका छाड्नेका संख्या बढेको हो । १२ गतेदेखिबाट मात्र सार्वजनिक बिदा भए पनि गृहणी, विद्यार्थी र विदेशबाट दसैं मनाउन आउनेहरूको कारण काठमाडौंस्थित नयाँ बसपार्कमा घर जानेको भिड छ ।
यस्तै, बसपार्कबाट अग्रीम बुकिङको व्यवस्था नहुँदा यात्रुहरू छिटो गरेर घर जाने लागेका हुन् । पछिल्लो पाँच दिनमा दसैं मनाउन काठमाडौं उपत्यका छाड्नेको संख्या बढेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता लोकेन्द्रसिंह गुरुङले बताए । उपत्यका छाड्नको संख्या बढ्दा काठमाडौंबाट बाहिरिने सवारीको चाप बढेको बताए ।
यस्तै, पछिल्लो समय निरन्तर वर्षाको कारण पहाडी राजमार्गमा सडक अवरोध हुँदा यात्रुहरूलाई गन्तव्यमा पुग्न यात्रुहरूलाई निकै सकस भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १ गतेयता १ लाख ८९ हजार २ सय १४ यात्रु उपत्यकाबाट बाहिरिएको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ । सोमबार मात्र उपत्यकाबाट ४३ हजार यात्रुले काठमाडौं छोडेका छन् । यस्तै, असोज १ गतेदेखि ६ गतेसम्म २९ हजार ३ सय ७८ सार्वजनिक यातायातबाट करिब २ लाख यात्रुले उपत्यका छोडेका हुन् । ट्राफिक प्रहरीका अनुसार असोज १ गते ४ हजार ८ सय ६४ सवारीसाधनबाट ३४ हजार ५ सय ५६ जना यात्रु बाहिरिएका थिए । यस्तै, असोज २ गते ५ हजार ८ सय २ सवारी साधनबाट ३६ हजार १ सय, असोज ३ गते ६ हजार २ सय ३८ सवारी साधनबाट ४० हजार ५ सय ५५ जना यात्रु बाहिरिएका छन् । यस्तै, असोज ४ गते ५ हजार ९ सय २३ सवारी साधनबाट ३४ हजार ८ सय ७९ जना यात्रुले काठमाडौं छाडेका थिए ।
यस्तै, सोमबारबाट सवारी साधनको क्यु फ्री भएकाले काठमाडौंका यात्रुलाई लिन काठमाडांै भित्रिने सार्वजनिक बसको संख्यासमेत बढिरहेको छ ।
उपत्यकाबाट दसैं मनाउन घर जानेको चाप बढेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले बताए । यो संख्या दसैंको अघिल्लो दिनसम्म हुने र सार्वजनिक यातायातसँगै हवाई, निजी सवारीबाट यस वर्ष करिब २० लाख यात्रुले उपत्यका छाड्ने अनुमान गरिएको स्वाँरले बताए । निरन्तर वर्षाको पहाडी क्षेत्रका सडकमा पहिरो जाँदा दसैंमा यात्रा कठिन भएको छ ।