काठमाडौं : गतसाताको जेनजी आन्दोलन (२३–२४ भदौं)ले अस्तव्यस्त बनेको सडक सामान्य हुँदै आएको छ । प्रदर्शनकारीहरूको मागअनुसार नयाँ सरकार बनिसकेपछि ट्राफिक प्रहरीहरू समेत काममा फर्किएका छन् ।
तर, उनीहरूले प्रयोग गर्दै आएको ड्रेस र बुट प्रदर्शनका क्रममा खोसिएका थिए । ड्रेस खोसिएपछि सादा पोसाकमै प्रहरीहरू सडकमा देखिएका हुन् । प्रहरी हो भन्ने चिनून् भनेर केहीले सिम्बोलिक रूपमा पेटी लगाएका छन् । कतिपय जुत्तामा कतिपय त चप्पलमै समेत सडकमा देखिएका छन् ।
प्रदर्शनका क्रममा देशभरका प्रहरी बिटहरू तोडफोड भएका छन् । तोडफोड भएका बिटबाटै प्रहरीहरूले सेवा सुरु गरेका हुन् ।
प्रदर्शनका क्रममा काठमाडौं उपत्यकाका मात्रै १ सय ५३ वटा प्रहरी कार्यालयमा आगजनी र तोडफोड भएको प्रहरीको तथ्यांक छ । उपत्यका प्रहरी कार्यालयका अनुसार उपत्यकाका तीन जिल्लाका १ सय ५३ प्रहरी युनिटमा पूर्ण रूपमा क्षति भएको छ ।
काठमाडौंका १ सय २६ वटा प्रहरी कार्यालय, डीएसपी इन्चार्ज हुने ११ वटा प्रहरी वृत्त, १० वटा प्रभाग, तीनवटा चौकी र ३६ वटा बिटमा क्षति पुगेको छ । ललितपुरका दुईवटा वृत्त र सातवटा प्रभागमा पूर्ण रूपमा क्षति पुगेको छ । भक्तपुरका दुईवटा वृत्त, दुईवटा प्रभाग, एउटा चौकी र तीनवटा पोस्टमा पूर्ण क्षति भएको छ ।
उपत्यका प्रहरी कार्यालयका अनुसार उपत्यका ट्राफिक प्रहरी कार्यालयसहित १० वटा ट्राफिक युनिटहरू पूर्ण क्षति भएका छन् । उपत्यकाबाहिर भएको क्षतिको विवरण आउन बाँकी छ । आगजनी र तोडफोडसँगै प्रहरी युनिटबाट प्रहरीले प्रयोग गर्दै आएको ड्रेस र जुत्ता खोसिएपछि सादा पोसाकमै प्रहरीहरू सडकमा देखिएका हुन् ।
गृहमन्त्री ओमप्रकाश अर्याल क्षतिको विवरण संकलन भएपछि बजेटको सुनिश्चितता गरेर काम गरिने बताउँछन् । सोमबार सिंहदरबार पुगेर पदभार ग्रहण गरेलगत्तै उनले भनेका छन्, ‘प्रहरीको मनोबल बढाउनुपर्नेछ ।
क्षतिको तथ्यांक संकलन भइसकेपछि तत्काल गर्नुपर्ने र दीर्घकालीन रूपमा गर्ने विषय तय गरिन्छ ।
गृह मन्त्रालयका अनुसार भदौ २३ र २४ गते गरेको प्रदर्शनका क्रममा देशभर प्रहरीका सहित २६३ सरकारी कार्यालय पूर्ण रूपमा क्षति भएको प्रारम्भिक विवरण छ । ३४२ सरकारी कार्यालयमा आंशिक क्षति पुगेको तथ्यांक छ ।
यस्तो अवस्थामा प्रहरीको मनोबल बढाउने गरी काम गर्ने प्रतिवद्धता गृहमन्त्री अर्यालले जनाएका हुन् ।