सुर्खेत : गत मंगलबारको जेन–जी आन्दोलनले वीरेन्द्रनगर नगरपालिकाका करिब सबै वडालाई आगलागी र तोडफोडको खतरनाक घेरामा पारेपछि यहाँको दैनिक जीवन अस्तव्यस्त बनेको छ ।
रातभरि डढेका नगरपालिका र वडाका भवन, खरानीमा परिणत जिन्सी सामग्री र फुटेका पर्खालहरू अझै पनि आन्दोलनको भयावहता झल्काइरहेका छन् । सोमबार शान्त रूपमा भइरहेको आन्दोलन मंगलबार दिउँसोदेखि उग्र बनेको थियो । मंगलबार १२ बजेदेखि सुरु भएको प्रदर्शन राति अबेरसम्म चल्यो ।
आन्दोलनकारीहरू छुट्टाछुट्टै समूहमा विभाजन भइ राजनीतिक दलका पार्टी कार्यालय, सरकारी कार्यालय र नेताहरूको घर निसानामा बनाए । आन्दोलनकारीहरूले दिउँसोदेखि राति अबेरसम्म वीरेन्द्रनगरका १२ वडामा पुगे ।
वडाहरूमा क्षति
आगजनीबाट वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर १, ५, ७, ८, ९, १०, ११ र १२ वडा कार्यालय आंशिक रूपमा क्षति पुगेका छन् भने वडा नम्बर २, ३, ४ र ६ पूर्ण रूपमा जलेर खरानी भएका छन् । आगलागीबाट महत्वपूर्ण कागजात तथा सिस्टमहरू जलेको वडाध्यक्षहरूले बताएका छन् । भवन संरचनामा समेत आगोका कारण क्षतविक्षत भएको छ ।
आगजनीका कारण वडा कार्यालयहरूमा रहेका साना ठूला गरी दर्जनौँ सवारी साधनमा क्षति पुगेको छ । वीरेन्द्रनगर–२ का वडाध्यक्ष गज बहादुर बुढाले आफ्नो वडामा भएका सम्पूर्ण सामग्रीहरू जलेर नष्ट भएको बताए । उनले कार्यालयमा भएका जिन्सी सामग्रीहरू पूर्ण रूपमा खरानी बनेको र केही सामान लुटपाट भएको आरोप लगाए ।
नगरपालिका पनि निसानामा
आन्दोलनकारीहरूले वडा मात्रै होइन, नगरपालिका समेत आगजनी र तोडफोड गर्न भ्याए । आन्दोलनकारीको भीडले नगरपालिकाको मुख्य गेट तोड्दै भित्र पस्दा स्थानीयको मुटु ढुकढुकी बढ्यो । ठुलो भिडले नगरपालिका पुगेर जिन्सी सामग्री राखिएको एक भवनमा आगजनी गरे ।
उनीहरूले नगर प्रहरी, जिल्ला प्रहरी र सशस्त्र प्रहरी बल अगाडि नै नगरपालिकाको गेट तोडफोड गरेर आगजनी गरेका थिए । आगजनी मात्र नभई, नगरपालिकाका सामाग्रीहरू समेत लुटपाट गरिएको छ ।
नगरपालिकाका सूचना अधिकारी टंक प्रकाश लामिछानेका अनुसार दुई वटा स्कुटर, एक मोटरसाइकल र करिब तीन लाख रुपैयाँ बराबरको डिजिटल बोर्डसहित धेरै सामग्री ध्वस्त भएका छन् ।
‘एउटा संस्थाबाट सहयोग मिलेको डिजिटल बोर्ड थियो। त्यो बोर्ड उनीहरूले ढुंगाले हानेर क्षति पु¥याए,’ लामिछानेले भने, ‘कार्यालयमा राखिएका स्कुटर र मोटरसाइकलसमेत जलाइए ।’
उनका अनुसार पालिकामा राखिएका सोलार प्रणाली समेत लुटपाट गरिएको छ । ‘कार्यालय दमकल र एम्बुलेन्सका केही सिसा फुटेका छन्,’ उनले भने, ‘गेट अगाडिको पर्खाल भत्काइएको छ, जिन्सी सामान जलाइएका छन् ।’
कर्मचारी र नागरिकको पीडा
नगरपालिकाका एक कर्मचारीले सवारी साधनसँगै अन्य जिन्सी सामाग्री पनि जलेर नष्ट भएको बताए ।
‘हाम्रा स्कुटी र मोटरसाइकल जलेर ध्वस्त भए । कार्यालय अगाडिको डिजिटल बोर्ड पनि तोडफोड भयो,’ ती कर्मचारीले भने, ‘अहिले कति क्षति भएको छ भन्ने यकिन विवरण तयार भएको छैन । मुचुल्का बनाउने काम चलिरहेको छ । नगरपालिकामा आगलागी हुँदाको पीडा कसलाई सुनाउनु ?’
नागरिकहरूलाई सेवा प्रवाह गर्ने नगरपालिका र वडाहरू आफैं ध्वस्त भएपछि, त्यहाँका कर्मचारीहरूले निकै पीडादायी अनुभव गर्नुपरेको उल्लेख गरेका छन् ।
हमा ठप्प र पुनः सुरु
आन्दोलनका क्रममा भएको आगजनीमा विभिन्न जिन्सी तथा सवारी साधन पूर्ण रूपमा ध्वस्त भएपछि नगरपालिकाको सम्पूर्ण सेवा तत्काल ठप्प भएको थियो । तर, ठप्प भएको नगरपालिकाको सेवा प्रवाह आइतवारदेखि पुनःसुरु गरिएको छ ।
नागरिकलाई अत्यावश्यक सेवाबाट वञ्चित हुन नदिन नगरपालिकाले आइतबारदेखि काम थालेको सूचना अधिकारी लामिछानेले जानकारी दिए । जेन–जी आन्दोलनका क्रममा भएको घटनालाई आकस्मिक विपत्तिका रूपमा लिएर व्यवस्थापनमा अग्रसर भएको पनि उनले बताए ।
‘नगरपालिकामा आगजनी र तोडफोड भएको छ । हामीले आइतवारदेखि सेवा सुरु गरेका छौं,’ उनले भने, ‘वडाहरूमा भने धेरै क्षति भएको छ । सेवा सुचारु हुन अझै निकै समय लाग्ने देखिन्छ ।’