रौतहट : रौतहट जिल्लामा सामाजिक कुरीति र लैंगिक हिंसाविरुद्ध धर्मगुरु र सामाजिक अगुवाहरू सक्रिय भएका छन् । बालविवाह, दाइजो र लैंगिक विभेदजस्ता समस्याहरू न्यूनीकरण गर्न राजपुर र चन्द्रपुर नगरपालिकामा जनचेतनामूलक अभियान सुरु गरिएको छ ।
स्थानीय सामाजिक परिचालक असलम अन्सारीका अनुसार बालविवाह सामाजिक कुरीतिको प्रमुख कारण बनेको छ, जसले महिला हिंसा र अन्य सामाजिक समस्याहरूलाई बढावा दिइरहेको छ । यस अभियानले यस्ता कुरीतिहरूको अन्त्य गर्ने र समुदायमा जागरूकता फैलाउने लक्ष्य राखेको छ ।
मुस्लिम धर्मगुरु मौलाना जाकिर हुसैनले बालविवाहले महिला र पुरुष दुवैमा पार्ने नकारात्मक प्रभावबारे जनचेतना जगाइरहेको बताए । उनले भने, “धर्मले बालविवाहलाई अपराधको रूपमा लिन्छ । हामी लैंगिक समानतामा जोड दिँदै समुदायलाई जागरूक बनाउँदैछौं ।” यो अभियानको मुख्य उद्देश्य बालविवाह न्यूनीकरण गर्नु र यसले निम्त्याउने समस्याबारे जानकारी दिनु हो ।
आरडिसी नेपालका कार्यक्रम अधिकृत गुडु साहका अनुसार राजपुर र चन्द्रपुरमा विभिन्न धर्मका ३० जना धर्मगुरुहरू परिचालित छन् । उनीहरूले आफ्नो धार्मिक क्षेत्रमा सामाजिक समस्याविरुद्ध धार्मिक दृष्टिकोणबाट जनचेतना फैलाउँदै छन् ।
यो अभियानले स्थानीय समुदायमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।