रौतहट : भारत बिहारका एक जनाले दोहोरो नागरिकता लिएको खुलेको छ । भारतीय नागरिक रहेका उनले नेपाली नागरिकता समेत लिएको खुलेको हो ।
भारत बिहार असोगी, बैरगनिया, सितामढीका दिलिप कुमारले नेपाली र भारतीय दुवै नागरिकता लिइ दोहोरो सेवासुविधा लिइरहेको देखिएको छ । बैरगनिया असोगी सितामढी, बिहारका प्रदीप कुमार साहका छोरा दिलिप कुमार स्वर्णकारले भारतीय र नेपाली दुवै नागरिकता प्रयोग गरिरहेको भेटिएको हो । स्वर्णकारले २०७४/९/०२ मा जिल्ला प्रशासन कार्यालय बाराबाट वंशज नागरिकता लिएको अभिलेख छ । जिल्ला प्रशासन कार्यालय बाराबाट उनले प्राप्त गरेको नागरिकताको नम्बर ३३–०६–७४–००७९५ रहेको छ ।
उनले जिल्ला बारा सिमरौनगढ नगरपालिका–९ कचोर्वा बाट बुवा प्रदीप प्रसाद साह र आमा एकारसी देवीको नामबाट नागरिकता लिएका हुन् । हाल उनी रौतहटको दुर्गाभगवती गाउँपालिकाको गंगापिपरामा सुन पसल सञ्चालन गरी बसेका छन् ।
नेपालमा दिलिप कुमार स्वर्णकार नामले नागरिकता लिएका उनको भारतमा प्रदीप कुमार नामले आधार कार्ड र मतदाता परिचय पत्र समेत रहेका छन् । भारतमा रहेको मतदाता परिचय पत्रको क्रम संख्या तथा परिचय पत्र नम्बर एमवाइएफ ३२७२५०७ रहेको छ । भारतीय अभिलेख अनुसार उनले भारतमा पञ्चायत आम निर्वाचनमा मत समेत खसाल्दै आएका छन् । स्थानीयहरूले स्वर्णकारले किर्ते गरी नेपाली नागरिकता लिइ दोहोरो नागरिकता लिएकोले कानुन अनुसार कारबाही हुनुपर्ने माग गरेका छन् ।