काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एक किसान १० भैँसी, लाख किसान व्यवसायिक भैँसी पालन’ अभियान सुरु गर्न जरुरी रहेको बताएका छन् ।
मन्त्रीहरुसँग कार्य सम्पादन सम्झौता गर्दै प्रधानमन्त्री ओलीले ‘एक किसान १० भैँसी, लाख किसान व्यवसायिक भैँसी पालन’ अभियान सुरु गर्न जरुरी रहेको बताएका हुन् । उनले अब बोल्ड निर्णय लिएर अघि बढ्न जरुरी रहेको बताए । कसले के भन्छ भनेर बसेर अब नहुने उनको भनाइ छ । कृषि क्षेत्र छिटो परिवर्तन ल्याउने क्षेत्र भएकाले भैँसी पालनतर्फ किसानलाई अघि बढाउन जरुरी रहेको बताए ।
वागमती, कोशी, मधेस र लुम्बिनी प्रदेशमा मा भैँसी पालनको अभियान चलाउन जरुरी रहेको बताए । अब राँगाको मासु चीन विक्री गर्नेतर्फ सरकार लागिरहेकाले भैँसी किनेर किसानलाई दिनुपर्ने र त्यसबाट दुग्धजन्य सामग्रीहरु पनि बढ्ने र यसमा नेपाल आत्मनिर्भर बन्नसक्ने बताए । यसले रोजगारी सिर्जना गर्नुका साथै स्वदेशमै युवा जनशक्ति राख्न सकिने बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘हामीले बोल्ड स्टेप लिनुपर्छ । कसले के भन्छ भनेर त्यसरी हुँदैन । बोल्ड स्टेप लिएर हामी अघि बढ्नुपर्छ । अब के गर्नुपर्छ भने कृषि क्षेत्र भनेको छिटो परिवर्तन ल्याउने क्षेत्र हो । तसर्थ राँगाको मासु लैजाने भन्नेछ चीनमा । भैँसीका पाडी किनेर किसानलाई दिउँ न । लगानी त्यसमा गरौँ । भैँसीका पाडी किनौँ पाल्न दिऔँ । पाडा पाए पनि पाडी पाएपनि केही फरक परेन । वागमती, कोशी, मधेस र लुम्बिनीमा भैँसी पालनको अभियान चलाऔँ । डेरी प्रोडक्ट पनि बढ्छ । मासु पनि विक्री हुन्छ । लाख किसानलाई १० वटा भैँसीका दरले पाल्न लगायौँ भने बल्ल १० लाख भैँसी पालियो भने हुन्छ । यो अभियान हामीले चलाऔँ । १ किसान १० भैँसी, लाख किसान व्यवसायिक भैँसी पालन । अभियान चलाऔँ त । केही पनि गरेन भने केही हुँदैन । देश विकास गर्ने हो ।’
प्रधानमन्त्री ओलीले मौलिक योजना बनाएर मौलिक ढंगले काम अघि बढाउन मन्त्रीहरुलाई निर्देशन दिए।