रौतहट : मधेशका किसानहरू हाल चरम समस्याको सामना गरिरहेका छन् । आकाशबाट पानी एक थोपा खसेको छैन, बोरिङ र इनार सुकिसकेका छन् । धान खेतमै सुक्दै गएको छ, गाईवस्तुका लागि पानी छैन, र मानिसहरू एक गाग्री पानीको लागि लामो लाइनमा बस्न बाध्य छन् ।
यस्तो गम्भीर संकटको अवस्थामा पनि कृषि ज्ञान केन्द्र, रौतहटका प्रमुख सुरेन्द्र प्रसाद कुर्मीले विभेदपूर्ण ढंगले ‘स्यालो ट्युबेल तथा मोटर बोरिङ वितरण कार्यक्रम’ को सूचना केही सीमित पालिका र वडामा मात्र जारी गरेपछि किसानहरू आक्रोशित भएका छन् ।
आक्रोशित किसानहरूले सामाजिक सञ्जालमार्फत् प्रमुख कुर्मीमाथि कारबाहीको माग गरेका छन् ।
कृषकहरूले प्रमुख कुर्मीले अघिल्लो पटक पनि उखु प्रवर्द्धन, बगर खेती, स्यालो ट्युबवेल लगायतका योजनामा कमिसनको आधारमा योजना वितरण तथा भुक्तानी गरेको आरोप लगाएका छन् ।
रौतहटका अगुवा कृषक भोला पण्डितले योजना दिने नाममा किसानहरूलाई झुक्याएर भुक्तानीको बेलामा माथिको सेटिङ मिलाउनुपर्ने भन्दै कमिसन माग गरिएको आरोप लगाए ।
कृषि ज्ञान केन्द्रका प्रमुख कुर्मीमाथि पटक–पटक विभेद, कमिसनखोरी, सत्ता पक्षका नेताहरूको संरक्षणमा योजनाको मनोमानी वितरणजस्ता आरोप लाग्दै आएको छ । स्थानीय किसान रुपेश यादवले कुर्मीले सधैं वास्तविक किसानलाई बाइपास गरी बिचौलियामार्फत योजना सम्झौता गर्ने गरेको आरोप लगाए ।
यसपटक स्यालो ट्युबेल तथा मोटर वितरण कार्यक्रमको सूचना विभेदपूर्ण तरिकाले प्रकाशित भएको भन्दै जनप्रतिनिधि, नागरिक समाज, र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले सम्बन्धित निकायमा दबाब दिएका छन् ।
उनीहरूले प्रकाशित सूचना तत्काल रद्द गर्नुपर्ने, सुखाग्रस्त क्षेत्रको अनुगमन गर्नुपर्ने र जिल्लाभरिका किसानलाई समेट्ने गरी नयाँ र निष्पक्ष सूचना जारी गर्नुपर्ने माग राखेका छन् ।
त्यस्तै, प्रमुख कुर्मीमाथि छानबिन गरी जिम्मेवारी मुक्त गर्ने र उनको कार्यशैलीमा सुधार ल्याउनेतर्फ पनि सरोकारवाला पक्षहरूको ध्यानाकर्षण भएको छ । कृषि क्षेत्र जस्तो संवेदनशील क्षेत्रमा काम गर्ने व्यक्तिले सबै किसानलाई समान रूपमा व्यवहार गर्न आवश्यक रहेको किसानहरुको भनाइ छ ।