२०८२ साउन ५ गते सोमवार / Jul 21 , 2025 , Monday
२०८२ साउन ५ गते सोमवार
Ads

कारागार सधैं असुरक्षित !

shivam cement
मुकुन्द लामिछाने
२०८२ साउन ५ गते ०६:३०
कारागार सधैं असुरक्षित !

काठमाडौं : सिरहा कारागारमा कैदीहरूबीच झडप भएको छ । आइतबार भएको झडपमा परेर १३ जना कैदीबन्दी घाइते भएका छन् । घाइतेहरूको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार आन्तरिक प्रशासनको नाइके तोक्नेबारेमा विवाद हुँदा झडप भएको हो । झडपको अन्य कारण के हो भनेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो पछिल्लो घटना हो । कारागार र बाल सुधारगृहमा यसअघि पनि पटक–पटक झडपका घटना भएका छन् । बाल सुधारगृहमा झडपका घटना अझ ज्यादा भएका छन् । 

५ भदौ २०८० मा भक्तपुरको सुधारगृहमा झडप मात्रै भएन, मूल गेट नै तोडेर बन्दीहरू बाहिर निस्किएका थिए । त्यसपछि धेरैले सरकारमाथि प्रश्न उठाए । तथापि, झडपका घटना रोकिएनन् । 

२६ भदौ २०८० मा वीरगञ्जको विर्तास्थित बाल सुधारगृहमा दुई समूहबीच झडप भएको थियो । ४ असोज २०८० मा बाँकेको डुडुवास्थित जयेन्दु सुधारगृहमा झडप हुँदा घाइते भएकाहरूमध्ये एक जनाको निधन नै भयो । १४ पुस २०७९ मा बाँकेको सुधारगृहमा रहेका कैदीबन्दी झ्यालको भेन्टिलेसन तोडेर भागेका थिए । बाँकेको सुधारगृहमा २०७९ माघ अन्तिम साता आगजनी भएको थियो । 

कारागार र सुधारगृहमा एकपछि अर्को झडपका घटना भएपछि प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले देशका विभिन्न जिल्लामा रहेका सुधारगृह र हिरासतमा पुगेर स्थलगत अध्ययन गरेको थियो । अध्ययनपछि समितिले कारागार र सुधारगृहको भौतिक संरचनाकै सुधारको आवश्यकता औंल्याएको थियो । 

कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीका अनुसार कारागार र बाल सुधारगृहमा ‘भौतिक संरचना नै अपुग छ । बस्ने ठाउँहरू साँघुरा छन् । क्षमताभन्दा पाँच गुणासम्म बढी कैदीबन्दी रहने अवस्था छ । यस्तो कारणले समेत कैदीबन्दीको मनोविज्ञानमा नकारात्मक असर गरेको छ ।’

स्थलगत अनुगमनपछि संसदीय समितिले पर्याप्त हावा र प्रकाश छिर्ने गरी कोठाको व्यवस्थापन हुन नसकेको, शौचालय, स्नानकक्ष, अध्ययनकक्ष स्थलको व्यवस्था हुन नसकेको औंल्याएको थियो । सुत्नका लागि ठाउँकै अभाव, पर्याप्त डसना र सिरक नभएको भनेर पनि सरकारको ध्यानाकर्षण गराएको थियो ।

स्वच्छ पानीको पर्याप्त आपूर्तिसमेत हुन नसकेको भनेर संसदीय समितिले औंल्याएअनुसार काम भए/नभएको पुनः अध्ययन भएको छैन । यस्तो वातावरणले समेत कैदीबन्दीको मनोभावमा प्रभाव पारिरहेको हुन्छ । जसले झडपको अवस्था सिर्जना गर्नमा भूमिका खेलिरहेको हुन्छ । 

संसदीय समितिकी सभापति सुवेदी खुला कारागारको अवधारणा प्रभावकारीरूपमा लागू गर्न सक्दा केही सुधार गर्न सकिने बताउँछिन् । कैदीबन्दीको संख्या कम गर्न यो अवधारणा प्रभावकारी हुने उनको राय छ ।

‘बन्दीहरु एउटा न एउटा समस्या नभइ कारागार वा सुधारगृह पुगेका हुँदैनन् । अझ नकारात्मक वातावरण कारागार वा सुधारगृहमा रह्यो भने व्यक्तिको विकास सही नहुन सक्छ । यसमा राज्यले ख्याल गर्नुपर्छ ।’ 

ADV

सम्बन्धित खबर

Advertise