२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

महिलाले हाँकेको नमुना विद्यालय ज्ञान ज्योति

Nada
दिलमाया शाही
२०८२ साउन ४ गते २१:२५
Shares
महिलाले हाँकेको नमुना विद्यालय ज्ञान ज्योति

जुम्ला : समाजमा अझै पनि महिलाले नेतृत्व गर्न सक्छन् त ? भन्ने प्रश्न उठिरहन्छ । तर जुम्लाको तिला गाउँपालिका–४ मा अवस्थित ज्ञान ज्योति आधारभूत विद्यालयले यो प्रश्नको जवाफ मात्र दिएको छैन, एक प्रेरणादायिक उदाहरणसमेत प्रस्तुत गरेको छ ।

ncell

उक्त विद्यालयको व्यवस्थापन समिति ७ जना महिलाले मात्र गठन गरेपछि विद्यालयमा उल्लेखनीय परिवर्तन आएको छ । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष धनलक्ष्मी धितालका अनुसार विद्यालय पहिले खुला, अस्तव्यस्त र बेवास्तामा थियो । तर अहिले भने विद्यालयको वातावरण नै परिवर्तन भइसकेको छ ।

‘महिला नेतृत्वले अनुशासन, पारदर्शिता र समर्पणका साथ काम गरेको छ,’ उनले भनिन् । धितालका अनुसार अघिल्लो समितिमा सबै पुरुष थिए । तर महिलाहरूले नेतृत्वको माग गरेपछि स्थानीय समाजले विश्वास गर्दै जिम्मेवारी सुम्पिएको हो ।

‘हामी सातै जना महिला छौं,’ उनले भनिन्, ‘बालबालिकाको शिक्षाको जग बलियो बनाउने हाम्रो मुख्य लक्ष्य हो ।’

विद्यालयमा अहिले बालमैत्री कक्षा, नियमित निगरानी, सरसफाइ र सुरक्षित वातावरण निर्माणमा उल्लेखनीय प्रगति भएको छ । व्यवस्थापन समितिकी सचिव माग्ली शाही भन्छिन्, ‘महिलाले पनि जिम्मेवारी पाए उत्कृष्ट काम गर्न सक्छन् भन्ने सन्देश हामीले समाजलाई दिएका छौं ।’

उनका अनुसार विद्यालयको घेराबार निर्माण, कक्षाको स्तरीयता, सिकाइको गुणस्तर सुधार लगायतका काममा प्रभावशाली सफलता मिलेको छ । समितिले वडास्तरको बजेट तथा प्रदेश सरकारको मुख्यमन्त्री कार्यक्रमको सहयोगबाट विद्यालयलाई व्यवस्थित र आकर्षक बनाएको हो । 

स्थानीय अभिभावकहरू पनि विद्यालयको रूपान्तरणबाट सन्तुष्ट छन् । एक अभिभावकले भने, ‘पहिले यस्तो सफा र व्यवस्थित थिएन। अहिले त छोराछोरीको पढाइ नै राम्रो भएको छ। महिला नेतृत्व साँच्चिकै असरदार रहेछ ।’ उनी थप्छन्, ‘अवसर पाए महिलाले पनि नेतृत्वमा उदाहरणीय काम गर्न सक्छन् ।’

त्यस्तै, महिलाले मात्र नेतृत्व गरेको विद्यालय व्यवस्थापन समितिले समाजमा महिलाको सहभागिता र क्षमताप्रति नयाँ दृष्टिकोण स्थापित गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर