२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

चुरे तराई मधेश संरक्षण भैरहवा इकाइको भौतिक प्रगति ९३.४४ प्रतिशत

Nada
सूर्यप्रसाद भुसाल
२०८२ साउन ४ गते २१:१६
Shares
चुरे तराई मधेश संरक्षण भैरहवा इकाइको भौतिक प्रगति ९३.४४ प्रतिशत

भैरहवा : राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको कार्यान्वयन इकाइ भैरहवाले चालु आर्थिक वर्षमा ९३.४४ प्रतिशत भौतिक र ८८.४५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ ।

ncell

गत आर्थिक वर्षमा संघीय सरकारले विनियोजन गरेको बजेटमध्ये कार्यान्वयन इकाइ भैरहवाले सबै रकम खर्च गर्न नसकेपछि ८८ प्रतिशत मात्र वित्तीय प्रगति हासिल भएको हो । कार्यालयका लागि विनियोजन गरिएको १७ करोड १९ लाख रुपैयाँको पुँजीगत बजेटमध्ये अधिकांश योजना तोकिएको म्यादभित्रै सम्पन्न भए पनि केही योजनाहरू समयमा सम्पन्न हुन नसक्दा सम्पूर्ण बजेट खर्च हुन सकेन ।

कार्यालयले पुँजीगत, तटबन्ध तथा बाँध निर्माण, सिँचाइ संरचना निर्माण, वन तथा वातावरण संरक्षण तथा अन्य सार्वजनिक निर्माण कार्य गरी पाँच खर्च शीर्षकअन्तर्गत सात जिल्लामा ९६ वटा योजना सञ्चालन गरेको छ । तीमध्ये अधिकांश योजना अपवाद बाहेक सम्पन्न भएका छन् भन्ने जानकारी कार्यान्वयन इकाइ भैरहवाका प्रमुख उपसचिव अणनाथ बरालले दिएका छन् । 

भुगोलअनुसार तटबन्ध तथा बाँध निर्माण, गल्छी नियन्त्रण, पहिरो नियन्त्रण लगायतका जनचासोका योजना विभाजन गरेर कार्यान्वयन गरिएको छ । न्यून जनशक्ति, भौगोलिक विकटता, साधनस्रोतको अभावका बाबजुद कार्यालयमा कार्यरत सीमित प्राविधिक कर्मचारीहरूको तदारुकताले अपेक्षाभन्दा बढी काम सम्पन्न भएको सूचना अधिकारी प्रकाश बस्नेतले जानकारी दिए । साथै, धेरैजसो बजेट फ्रिज जान नपाएको समेत उनले बताए ।

९६ मध्ये ९५ वटा योजना सम्पन्न भएकोले आर्थिक र भौतिक प्रगति सन्तोषजनक रहेको योजना प्रमुख जीवन पाण्डेले बताए। तर, स्वीकृत वार्षिक कार्यक्रममा समावेश सैनामैना नगरपालिका वडा नं.३ मा वर्षाको पानी संकलन पोखरी निर्माण योजना समयमा सम्झौता हुन नसक्दा कार्यान्वयनमा आउन सकेन । यही कारणले केही मात्रामा भौतिक र वित्तीय प्रगतिमा असर परेको कार्यालयका लेखापाल चक्रपाणी पाण्डेले बताए ।

प्रशासन शाखा प्रमुख नवीन पन्थीका अनुसार स्वीकृत वार्षिक कार्यक्रमअनुसारका सात शीर्षकमा विभाजन गरिएको बजेट, लक्षित परिमाण, सम्पन्न परिमाण, भार र भारित अंकको विश्लेषणको आधारमा ८७.३७ प्रतिशत चालु तथा पुँजीगत बजेट खर्च भएको हो ।

चुरे संरक्षण समितिको कार्यक्षेत्र लुम्बिनी प्रदेशसहित अर्घाखाँची लगायत ११ जिल्लामा फैलिएको छ । चालु आर्थिक वर्षमा मात्रै कार्यान्वयन इकाइ भैरहवाका लागि करिब ६० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर