काठमाडौं : नेपाली कांग्रेस सांसद राजेन्द्र बजगाईंले डा. शेखर कोइरालालाई पार्टी फुटाएर प्रधानमन्त्री बन्ने चाहना नरहेको बताएका छन् । पार्टीका सांसद एवं कोइराला पक्षधर नेताहरुसँगको भेटपछि आइतबार काठमाडौंमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
उनले बैठकमा समसामयिक राजनीतिका अवस्थाबारे छलफल भएको बताए । बैठकमा नेता कोइरालाले आफूले प्रमुख प्रतिपक्ष दलका नेता र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नुको कारणबारे ब्रिफिङ गरेको बताए ।
सरकारले सुशासन कायम गर्न नसकेको, भिजिट भिसा लगायतका प्रकरणमा आफ्नो फरक राय रहेको र त्यही कुरा प्रमुख प्रतिपक्षी दलका नेता र एमाले नेतृ भण्डारीसँग राखेको बताएको डा. कोइरालाको भनाइ उद्धृत गर्दै सांसद बजगाईंले जानकारी दिए ।
राष्ट्रिय दलको कुनै नेताले अन्य दलका नेताहरुसँग कुरा गर्नुलाई सामान्य रुपमा लिनुपर्ने बताए ।