काठमाडौं : नेकपा एमालेकी सांसद विद्या भट्टराईले मिडिया क्षेत्रलाई सरकारअन्तर्गत नभई संसदअन्तर्गत राखेर जानुपर्ने बताएकी छन् । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबारको बैठकमा मिडिया काउन्सिल विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै सांसद भट्टराईले यस्तो धारणा राखेकी हुन् ।
उनले मिडियालाई सरकारअन्तर्गत राख्दा सरकारले आफ्नो अनुकुल हस्तक्षेप गर्नसक्ने उनको भनाइ छ । उनले नागरिकले सूचना पाउने संवैधानकि अधिकारलाई मध्यनजर गरेर मिडिया काउन्सिल विधेयक अगाडि बढ्नुपर्नेमा जोड दिइन् ।
उनले सञ्चार क्षेत्र स्वतन्त्र र निश्पक्ष नभएसम्म लोकतन्त्रको व्याख्या गर्न नसकिने पनि धारणा राखिन् । उनले सञ्चार क्षेत्रको नियमनको नाममा प्रेस स्वतन्त्रतामाथि अंकुश लाग्ने खालको व्यवस्था हुन नहुने बताइन् । सांसद भट्टराईले नेपाल पत्रकार महासंघलाई पनि विधेयकको प्रक्रियामा जोड्नुपर्ने धारणा राखिन् ।
सरकारले पत्रकारिताको क्षेत्रमा भएका प्रविधि र परिवर्तनलाई आत्मसात गर्दै प्रेस काउन्सिललाई मिडिया काउन्सिलमा रुपान्तरण गर्ने उद्देश्यसहित विधेयक अघि बढाएको हो ।