ललितपुर : पूर्वमन्त्री एवम् तत्कालीन ललितपुर नगरपालिकाका प्रमुख बुद्धिराज बज्राचार्यको निधन भएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले दिएको जानकारीअनुसार शिक्षण अस्पताल महाराजगञ्जमा उनको ८९ वर्षको उमेरमा निधन भएको हो ।
“स्वर्गीय बज्राचार्यको शव अहिले महाराजगञ्ज अस्पतालमा नै राखिएको छ, उनका कान्छा छोरा विदेशबाट फर्किएपछि अन्त्येष्टि हुनेछ”, महानगरप्रमुख महर्जनले भने ।
विसं २०६१ मा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री नियुक्त भएका बज्राचार्य त्यसअघि विसं २०६० मा ललितपुरको नगरप्रमुख भएका थिए । विसं २०२७ मा तत्कालीन ललितपुर पञ्चायत १७ को वडाध्यक्ष, २०३२ सालमा पहिलो पटक ललितपुरको प्रधानपञ्च भई उनले काम गरेका थिए । विसं २०४६ मा प्रजातन्त्र आएपछि उनी एमालेबाट २०५४ मा ललितपुरको नगरप्रमुख भएका थिए ।
व्यापार क्षेत्रबाट पहिचान बनाउँदै राजनीतिमा होमिएका बज्राचार्यले २०३६ देखि २०३७ सालसम्मको ललितपुर उद्योग वाणिज्य संघको उपाध्यक्ष, २०३८ सालमा संघको कार्यवाहक अध्यक्ष र २०३९ देखि २०४० सालसम्म अध्यक्षको जिम्मेवारीमा रहेर योगदान दिएका थिए ।