अर्घाखाँची : अर्घाखाँची जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दा पछिल्लो समय जंगली जनावरको आतंकबाट पीडित भइरहेका छन् । भूमिकास्थान नगरपालिका–९ घडेरीडाँडाका स्थानीय जगबहादुर सुनुवार गत बिहीबार बँदेलको आक्रमणबाट घाइते भए ।
स्थानीय सन्तोष भुसालका अनुसार, खेतबारीमा लगाएको अन्नबाली बाँदरले दिनभर र बँदेलले रातभर नष्ट गर्दै आएको छ । अब त यी जनावरहरूले मानिसहरूमाथि समेत आक्रमण गर्न थालेपछि गाउँका बासिन्दा थप त्रसित बनेका छन् ।
‘गाउँमा साह्रै डर लाग्न थालेको छ,’ भूमिकास्थान नगरपालिका–९ का बीरबहादुर राना भन्छन्, ‘केटाकेटीलाई पनि आक्रमण गर्ने भएपछि कसरी बाँच्ने भन्ने चिन्ता बढेको छ ।’
बँदेल प्रायः राति खेतबारीमा आउने र कहिलेकाही दिनको समयमा पनि देखिने भएकाले स्थानीयहरू बाली जोगाउन सकसमा परेका छन् ।
त्यस्तै, बजार क्षेत्रहरूमा पनि भुसिया कुकुरको डरलाग्दो बिगबिगी देखिएको छ । गाईवस्तु, कुखुरा, बाख्रालगायतलाई कुकुरले आक्रमण गरेर क्षति पुर्याइरहेको स्थानीयको गुनासो छ ।
बाँदर र बँदेलको आतंकले सन्धिखर्क नगरपालिका, पाणिनी गाउँपालिका, मालारानी गाउँपालिका, छत्रदेव गाउँपालिकालगायतका क्षेत्रमा किसानहरूले बारी बाँझै छाड्न थालेका छन् ।
स्थानीयको यही गुनासोलाई लिएर नेपाली काङ्ग्रेस अर्घाखाँचीले प्रमुख जिल्ला अधिकारी (सीडिओ) मार्फत सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेस अर्घाखाँचीका सभापति केशव श्रेष्ठका अनुसार, डिभिजन वन कार्यालय र कृषि ज्ञान केन्द्रसँग पनि छलफल गरिएको छ । बाँदर, बँदेल र कुकुरको आतंक न्यूनीकरण गर्न डिभिजन वन कार्यालय अर्घाखाँचीले हालै १० जना वन हेरालु भर्ना गर्ने सूचना प्रकाशित गरेको जानकारी प्रवक्ता केशव खड्काले दिएका छन् ।
यसैबीच, सदरमुकाम सन्धिखर्कमा पनि भुसिया कुकुरको आतंकका कारण बिहान–बेलुका हिँड्न निस्कने मानिसको संख्या घट्दै गएको देखिएको छ ।
स्थानीय नागरिकले जंगली जनावर नियन्त्रण गर्न दीर्घकालीन योजना बनाउन र प्रभावकारी उपाय अपनाउन सरकारसँग माग गरेका छन् ।