दोहा, कतार : गैरआवसीय नेपाली संघको ११औं अधिवेशन आयोजक समिति कतारले आह्वान गरेको पञ्जीकृत सदस्यता आवेदन आह्वान गए रातिबाट बन्द गरिएको छ । कतारका संयोजक केशव कार्कीले २०२५-२०२७ कार्यकालका लागि खुला गरिएको सदस्यता आवेदनमार्फत ६ हजार ७५ जनाले सदस्यता फाराम भरेको जानकारी दिए ।
कार्कीले प्रमाणीकरण अवधिमा अस्वीकृत भएका र ड्राफ्टमा भएको आवेदनहरूमा नपुग कागजातहरूको जानकारी सम्पूर्णको इमेलमार्फत सम्बन्धित व्यक्तिको इमेलमै जाने भएकाले २० जुलाई २०२५ सम्म आफ्ना नपुग कागजातहरू आफ्नो प्रोफाइलमा अद्यावधिक गर्न अनुरोध गरेका छन् ।
कतारमा रमेश भट्टले नेतृत्व गरेको एनसीसीलाई पटक–पटक दिइएको निर्देशन पालना नगरेको भन्दै ३० जुनमा बद्री केसी समूहले मान्यता फिर्ता लिँदै सोही समितिका द्वितीय उपाध्यक्ष केशव कार्कीलाई अधिवेशन संयोजक तोकेको थियो ।
एमआइएसद्वारा पञ्जीकृत सदस्यता सम्पन्न भइसकेको र आईसीसीले तोकेको समयभित्र नेतृत्व चयन तथा अधिवेशन सम्पन्न गर्ने तयारीलाई आयोजकले तीव्रता दिएको छ ।