पर्सा : पर्साको कालिकामाई गाउँपालिकाले पालिकाभित्रका शिक्षक, कर्मचारी र ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । गाउँपालिका अध्यक्ष बशिष्ठ कुमार गुप्ताको प्रमुख आतिथ्यतामा श्रीजनता मावि मुडलीमा कार्यक्रम सम्पन्न भएको हो ।
उद्घाटन समारोहमा अध्यक्ष गुप्ताले शिक्षालाई प्राथमिकतामा राखेर योजना निर्माण गर्दै शिक्षकहरूसँगको परामर्शमा अघि बढिरहेको बताए ।
उनले शिक्षा विकासमा शिक्षकहरूका सुझावका आधारमा पाँचवटा माध्यमिक विद्यालय सञ्चालनमा आएको र केहीमा प्लस टु तहसमेत सुरु गरिएको जानकारी दिए ।
अध्यक्ष गुप्ताले विद्यालयमा भौतिक पूर्वाधार, शौचालय, डेक्स–बेन्च र स्वयम्सेवक शिक्षकको व्यवस्थापन गरिएको उल्लेख गर्दै, शिक्षकहरूमा राजनीतिक प्रभाव, लामो समय एउटै विद्यालयमा बस्नाले पठनपाठनमा समस्या देखिएको जस्ता गुनासाहरू रहेको पनि स्वीकार गरे । साथै, सरकारको नीतिका कारण विद्यार्थी फेल नहुने व्यवस्थाले समस्या थपिएको र अभिभावकहरूको पनि जिम्मेवारीमा कमी रहेको टिप्पणी गरे ।
कार्यक्रममा गाउँपालिकाका ११ वटा विद्यालयका १४० जना शिक्षक, शिक्षिका तथा कर्मचारीलाई गम्छा ओढाई, झोला, डायरी र कलम प्रदान गरी सम्मान गरिएको थियो ।
कार्यक्रममा नेरामाबी कटीका प्रधानाध्यापक इन्द्रदेव कुर्मीले शिक्षकमाथि भएको सम्मानप्रति खुशी व्यक्त गर्दै, यो सम्मानले ऊर्जा र उत्साह थपेको धारणा राखे ।
नेपाल शिक्षक महासंघका अध्यक्ष विनोद गिरीले शिक्षकहरूले विद्यार्थीलाई आफ्ना सन्तानझैँ सम्झेर शिक्षण गर्नुपर्ने उल्लेख गरे ।
उनले इमानदारीपूर्वक शिक्षण गर्ने शिक्षकले अवश्य पनि सम्मान र फल पाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा वडाध्यक्ष लालबाबु चौरसिया, जयनारायण पटेल, सोनालाल चौरसिया, कन्यामाबीका प्रअ रामबचन प्रसाद, नेपाल रेडक्रस आधारभूत विद्यालयका अब्बास मियाँ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सोही अवसरमा कटी गाउँका ११४ वर्षीय ज्येष्ठ नागरिक ढोडा महतो चौहानलाई गाउँपालिका अध्यक्ष गुप्ताले दोसल्ला ओढाइ मायाको चिनो प्रदान गर्दै सम्मान गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक सुधन गौतराजले गरेका थिए ।