२०८२ साउन २ गते शुक्रवार / Jul 18 , 2025 , Friday
२०८२ साउन २ गते शुक्रवार
Ads

भूमिकास्थान नगरपालिकाको भौतिक प्रगति ९५ प्रतिशत

shivam cement
मध्यान्ह
२०८२ साउन १ गते २०:४९
भूमिकास्थान नगरपालिकाको भौतिक प्रगति ९५ प्रतिशत

अर्घाखाँची : भूमिकास्थान नगरपालिका, अर्घाखाँचीले आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । नगर सभाहलमा आयोजित कार्यक्रममा नगरपालिकाले सम्पन्न योजनाहरू, सेवा प्रवाह तथा आर्थिक कारोबारको विवरण सार्वजनिक गर्दै नागरिक र सरोकारवालाहरूसँग छलफल गरेको हो ।

समीक्षा अनुसार, गत वर्ष नगरपालिकाले ८६ करोड ८८ लाख ४७ हजार रुपैयाँको बजेट ल्याएको थियो । उक्त बजेटअन्तर्गत ४ सय १३ योजनामध्ये ३ सय ९९ योजना सम्पन्न भएका छन् । प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीका अनुसार, भौतिक प्रगति ९५ प्रतिशत पुगेको छ, भने वित्तीय प्रगति ८९.१४ प्रतिशत, पुँजीगततर्फ ८८.७ प्रतिशत र चालुतर्फ ८९.२८ प्रतिशत रहेको छ ।

राजस्व संकलनतर्फ पनि उल्लेखनीय सफलता हासिल भएको जनाइएको छ । ८२ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा त्यसभन्दा बढी राजस्व संकलन भएको छ ।
नगरप्रमुख झविलाल थापाले समिक्षा कार्यक्रममा नगरको विकास, पारदर्शिता र सुशासनलाई उच्च प्राथमिकतामा राखिएको बताए । साथै, समीक्षा कार्यक्रममा आएका सुझावहरू नीति निर्माणमा उपयोग गरिने स्पष्ट गरे । 

कृषि तथा स्वरोजगारमुखी योजनामा विशेष प्राथमिकता दिइएको जनाइएको छ । बाँझो जमिनमा खेती, थाकलको पातबाट टोपी र झोला उत्पादन, प्याज तथा मकै खेती, रैथाने बालीको प्रवद्र्धनजस्ता कार्यक्रम सञ्चालन गरिएको छ । नगरलाई कृषिमा आत्मनिर्भर बनाउँदै बसाइसराइ न्यूनीकरण गर्न यी कार्यक्रम प्रभावकारी हुने नगरप्रमुख थापाको भनाइ छ ।

शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पनि प्रभावकारी कार्यक्रमहरू सञ्चालन गरिएको जनाइएको छ । ‘पढ्दै, कमाउँदै, रमाउँदै’ कार्यक्रम, अभिभावक शिक्षा, शिक्षक तालीम, लक्षित वर्गका लागि घरदैलो सेवा, घुम्ती विशेषज्ञ शिविर, योग ध्यान शिविर लगायतका कार्यक्रमहरू सञ्चालन गरिएको योजना अधिकृत हरिषचन्द्र भुसालले जानकारी दिए ।

समीक्षा कार्यक्रममा सहभागीहरूले शिक्षा, स्वास्थ्य, कृषि सेवा सुधार, नियमित अनुगमन तथा आवश्यकतामुखी विकासमा जोड दिन सुझाव दिएका थिए ।

कार्यक्रममा सहभागीहरूको प्रश्नको उत्तर नगरप्रमुख झविलाल थापा, उपप्रमुख बालकृष्ण बन्जाडे, प्रमुख प्रशासकीय अधिकृत नेपाली, वडा अध्यक्ष र विषयगत शाखा प्रमुखहरूले दिएका थिए । समीक्षा कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नगर जनप्रतिनिधि, उपभोक्ता समिति, टोल विकास समिति, विद्यालयका प्रधानाध्यापकहरू, महिला स्वयंसेविका, पत्रकारलगायत सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको योजना शाखाका अधिकृत शेषकान्त घिमिरेले जानकारी दिए ।

ADV

सम्बन्धित खबर

Advertise