२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

छत्रदेवको सार्वजनिक सुनुवाइ : जनप्रतिनिधि भन्छन्– 'सेवाप्रवाहबारे कुनै जनगुनासो आएन'

Nada
सूर्यप्रसाद भुसाल
२०८२ असार ३१ गते २०:४२
Shares
छत्रदेवको सार्वजनिक सुनुवाइ : जनप्रतिनिधि भन्छन्– 'सेवाप्रवाहबारे कुनै जनगुनासो आएन'

अर्घाखाँची : छत्रदेव गाउँपालिका अर्घाखाँचीले तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । वर्षा सञ्चार मिडिया नेटवर्क अर्घाखाँचीको समन्वयमा आयोजना गरिएको कार्यक्रममा गाउँपालिकाको सेवा प्रवाह, विकास निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाइ, युवा स्वरोजगार, कृषि र रोजगारी लगायतका विषयमा सरोकारवालाहरूले आफ्ना धारणा सार्वजनिक रूपमा राखेका थिए ।

ncell

गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले सार्वजनिक सुनुवाइ कार्यक्रमलाई स्थानीय सरकारको उत्तरदायित्व निर्वाह गर्ने प्रभावकारी माध्यमका रूपमा लिएको बताउँदै छत्रदेवबासीले उठाएका मुद्दाहरूलाई आत्मसात् गरेर विकास प्रक्रियालाई अझ तीव्र पार्ने प्रतिबद्धता व्यक्त गरे । उनले जनप्रतिनिधि र कर्मचारीले जनताबाट प्राप्त सुझावहरूलाई ग्रहण गर्दै अझ प्रभावकारी ढंगले काम गर्ने बताएका थिए ।

श्रेष्ठले छत्रदेव गाउँपालिकामा सडक, कृषि, शिक्षा, पशुपालन, सिँचाइ, विद्युत् र खानेपानीतर्फको प्रगतिबारे जानकारी दिँदै संघीय, प्रदेश र स्थानीय सरकारबाट प्राप्त बजेटलाई उचित रूपमा विकास निर्माणमा प्रयोग गरिएको बताए । उनका अनुसार वडा नं. १ देखि ८ सम्म सडकहरू निर्माण सम्पन्न गरिनुका साथै केही सडकहरू कालोपत्रे भइसकेका छन्, भवन निर्माणको काम भइरहेको छ भने शैक्षिक गतिविधि प्रभावकारी रूपमा अगाडि बढेको छ । उनले विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्यविधिहरू कार्यान्वयनमा रहेको पनि जानकारी दिए ।

गाउँपालिका उपाध्यक्ष मनि पन्थीले महिलाहरू र युवालाई रोजगारीसँग जोड्ने प्रयासलाई प्राथमिकतामा राखिएका बताइन् । व्यवहारिक शिक्षाको प्रवद्र्धनमा गाउँपालिकाले लगानी गर्दै आएको उनको भनाइ थियो । 

प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले लागुऔषधको समस्या, आत्महत्याका घटनामा वृद्धि र अनलाइन ठगीलाई देशव्यापी चुनौतीका रूपमा उल्लेख गर्दै छत्रदेव गाउँपालिकालाई स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने दिशामा जनचेतना अभिवृद्धिमा थप ध्यान दिइने जानकारी दिए । 

नेपाली कांग्रेस गाउँपालिका सभापति प्रकाशराज पन्थले थोरै स्रोत साधनबाट पनि प्रभावकारी काम भएको भन्दै सराहना गरे ।

एमालेकी गाउँपालिका उपाध्यक्ष शान्ता थापाले अहिले गाउँपालिकामा सेवा प्रवाह सन्तोषजनक रहेको बताउँदै नागरिकले पहिले जस्तो बारम्बार कार्यालय धाउनुपर्ने अवस्था अन्त्य भएको महसुस भएको बताइन् । 

नेकपा माओवादीका नेता रामलाल पराजुलीले पटक–पटक हुने विद्युत् कटौतीले जनजीवनमा असर पारेको भन्दै समाधानतर्फ ध्यान दिन आग्रह गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शंकर भुसालले विकास निर्माणका कामसँगै बादर र बँदेल नियन्त्रणमा पनि गाउँपालिकाले ध्यान दिनुपर्ने सुझाव दिए ।

गाउँपालिकाका प्रवक्ता कमल पौडेलले विकासका कामलाई गुणस्तरीय बनाउन स्थानीय नागरिकको सहभागिता र भूमिका महत्वपूर्ण हुने धारणा राखे । 

सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा नं. १ देखि ८ सम्मका वडाध्यक्ष, कार्यपालिका सदस्य, गाउँसभा सदस्य, विद्यालयका प्रधानाध्यापक, महिला स्वास्थ्य स्वयंसेविका, सहकारी प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, पत्रकार, मानव अधिकारकर्मी, गाउँपालिकाका शाखा प्रमुखलगायतको उपस्थित रहेको थियो । 

ताजा खबर

सम्बन्धित खबर