रौतहट : जिल्ला प्रशासन कार्यालय रौतहटमा नागरिकता वितरण प्रक्रियामा विभेदपूर्ण व्यवहार भइरहेको स्थानीय बासिन्दाहरूले गुनासो गरेका छन् । सेवाग्राहीहरूका अनुसार कार्यालयमा कार्यरत केही कर्मचारीहरूले खासगरी मुस्लिम समुदायप्रति पूर्वाग्रही व्यवहार गर्दै आएको बताइएको छ ।
जिल्लाका विभिन्न गाउँबाट नागरिकता लिन आउने सेवाग्राहीहरू अनावश्यक झन्झट, अपमानजनक प्रश्नोत्तर र ढिलासुस्तीको शिकार बन्न बाध्य छन् । उनीहरूलाई बोलीचालकै आधारमा 'भारतीय' भनी शंका गर्ने, आवश्यक कानुनी प्रक्रिया पूरा हुँदा पनि नागरिकता नदिने वा दिनभरि अल्झाउनेजस्ता व्यवहार भइरहेको पीडितहरूको आरोप छ ।
एक सेवाग्राहीले भने, “हामी नेपाली नागरिक हौं, युगौंदेखि यहीँ बसोबास गर्दै आएका छौं । तर, कार्यालयमा हाम्रो भाषा र पहिचानकै कारण शंका गरिन्छ । दिनभरि काम नगर्ने, अनावश्यक प्रश्न सोध्ने, ‘भोलि आउ’ भन्ने शैलीले हामी निराश भएका छौं ।”
सेवाग्राहीहरूका अनुसार नागरिकता माग्दा प्रशासनका केही कर्मचारीहरू आफूलाई ‘मालिक’ सम्झने व्यवहार गर्छन् । “सरकारले जनताको सेवा गर्न पठाएका कर्मचारीहरू नागरिकता जस्तो संवैधानिक अधिकारमा पनि मनपरी गर्छन् भने जनताले कसलाई गुहार गर्ने ?” स्थानीयले प्रश्न गरेका छन् ।
संविधानले प्रत्येक नेपालीलाई नागरिकताको हक सुनिश्चित गरेको छ । तर, मधेश क्षेत्रका विभिन्न जिल्लामा नागरिकता वितरणमा हुने विभेद, ढिलासुस्ती र अव्यवस्थित कार्यशैलीप्रति चर्को असन्तुष्टि छ ।
स्थानीयबासीहरूले सम्बन्धित निकायहरूलाई यस्ता गम्भीर आरोपप्रति ध्यान दिन र सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।
यता जिल्ला प्रशासन कार्यालय रौतहटले भने कागजपत्र पूरा नहुनेहरुसँग कागजपत्र मागिएको बताउँदै कसैलाई विभेदपूर्ण व्यवहार नगरिएको बताएको छ ।