कपिलवस्तु : कपिलवस्तुको विजयनगर गाउँपालिकाले कृषकको उत्पादन वृद्धि र आयस्तर उकास्ने उद्देश्यसहित २८९ जना किसानलाई कृषि उपकरण वितरण गरेको छ ।
गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा आधुनिक प्रविधियुक्त उपकरण वितरण गरेको हो । कृषकलाई आधुनिक कृषि प्रणालीमा प्रोत्साहित गर्दै समय, श्रम र लागतमा बचत हुने लक्ष्य लिइएको गाउँपालिकाले जनाएको छ ।
कृषि विकास शाखाका प्रमुख रामसुन्दर मालीका अनुसार दुई कट्ठा भन्दा बढी क्षेत्रमा व्यावसायिक रूपमा मकै र तरकारी खेती गर्ने किसानलाई उपकरण प्रदान गरिएको हो ।
जीटुजी कार्यक्रम अन्तर्गत ९ जना कृषकलाई मिनि टिलर, ४ जनालाई झार फाल्ने मेसिन, ३६ जनालाई पम्पसेट, १२५ जनालाई पानी तान्ने मोटर तथा १२५ जनालाई १३ क्विन्टल ३० किलो डेलिभरी पाइप वितरण गरिएको उनले जानकारी दिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले अमेरिकी सहयोग नियोग युएसएआईडीमार्फत सञ्चालित जीटुजी कार्यक्रम अन्तर्गत वितरण गरिएको उपकरणले कृषकको उत्पादन क्षमतामा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरे । तर, उनले जीटुजी कार्यक्रम खारेज भएपछि योजनाहरू प्रभावित भएको भन्दै चिन्ता पनि व्यक्त गरे । ‘हामीले पाँच वर्षसम्म हरेक किसानको घरमा उपकरण पु¥याउने योजना बनाएका थियौं, तर कार्यक्रम नै बन्द भएपछि त्यो सपना अधुरो रह्यो,’ अध्यक्ष थापाले भने ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले प्राप्त उपकरणको सदुपयोग गर्न कृषकलाई आग्रह गरे । ‘समय, श्रम र लागत बचतसँगै उत्पादनमा वृद्धि गर्न यस्ता उपकरणले महत्त्वपूर्ण योगदान पुर्याउँछन्,’ उनले भने । गाउँपालिकाले जीटुजी कार्यक्रम अन्तर्गत सात वडालाई फरक–फरक बालीको पकेट क्षेत्रका रूपमा विकास गर्ने योजना अघि सारेको थियो । तर, कार्यक्रम खारेज भएपछि ती योजनाहरू हाललाई रोकिएका छन् । गाउँपालिकाले भने अन्य वैकल्पिक कार्यक्रममार्फत कृषिमा सहयोग जारी राख्ने बताएको छ ।