२०८२ असार ३१ गते मङ्गलवार / Jul 15 , 2025 , Tuesday
२०८२ असार ३१ गते मङ्गलवार
Ads

‘घुस काण्ड’का मन्त्री जोगाइँदै

shivam cement
मध्यान्ह
२०८२ असार ३१ गते ०६:३०
‘घुस काण्ड’का मन्त्री जोगाइँदै

काठमाडौं : घुस काण्डमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई प्रधानमन्त्री केपी शर्मा ओलीकै आडमा बचाउने प्रयास भएको छ । 

मन्त्री गुप्ताले कर्मचारी सरुवा तथा भूमि आयोग पदाधिकारी नियुक्तिमा २५ लाख रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएको ४ दिन बितिसक्दा समेत प्रधानमन्त्री ओली मौन छन् । यति मात्रै होइन, सरकार गठनको १ वर्षको समीक्षा र पछिल्लो पटक मन्त्रीहरूमाथि उठेका प्रश्नको सवालमा छलफल गर्न प्रधानमन्त्री ओलीले बालुवाटारमा सोमबार साँझ बोलाएको मन्त्रीपरिषद्को बैठकसमेत मन्त्री गुप्ता सहभागि थिए ।  

प्रतिपक्षी दलका नेताहरू र सत्ताकै प्रमुख सहयात्री दल नेपाली कांग्रेसका सांसदहरूले मन्त्री गुप्तालाई बर्खास्त गरी आवश्यक कारबाही गर्नुपर्ने माग गरेका छन् ।  

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका छन् । 

महामन्त्री थापाले मन्त्री गुप्ताले गल्ती नगरेको भए तुरुन्त राजीनामा दिएर आफूमाथि छानबिन होस् भन्नुपर्ने बताए । ‘आफूले गल्ती गरेको होइन भन्ने आँट पनि छैन । प्रधानमन्त्रीले तुरुन्त मन्त्रीलाई बर्खास्त गरिहाल्नुहोला भन्ने मेरो अपेक्षा थियो । यसबारेमा टिप्पणी नै गर्नुपर्दैन होला भन्ने लागेको थियो,’ महामन्त्री थापाले भने, ‘तर टिप्पणी गर्नुपर्ने अवस्था आयो । प्रधानमन्त्रीज्यू तपाईँले तत्काल तपाईंको मन्त्रीलाई बर्खास्त गर्नुस् ।’ अनुसन्धानमा कहीँकतै कोही दोषी देखिन्छ भने उसलाई कारबाही हुनुपर्ने थापाको माग छ । 

सोमबार नै पूर्वप्रधानमन्त्री एवं संसदको प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सरकारले सत्तालाई बिचौलियाको स्वार्थ र भ्रष्टाचारीको संरक्षणमा लागेको आरोप लगाए । प्रधानमन्त्री ओलीप्रति प्रश्न गर्दै उनले भने, ‘तपाईंका मन्त्री खुल्लमखुल्ला लाखौंको डिल गरिरहेका छन्, प्रधानमन्त्रीज्यू ! चित्रगुप्तलाई बयान कहाँ गएर दिने हो ?’

वर्तमान सरकारले भ्रष्टाचार, भागबन्डा, राजनीतिकरण, र बिचौलियाको संरचना सृजना गरेर राज्यको आधिकारिक संयन्त्रलाई छायामा पार्ने प्रयास गरेको उनको आरोप छ । ‘भ्रष्टाचार गर्दिनँ र गर्न दिँदैन भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई आमजनताले जाली ठानिसकेको र त्यसको विपरीत सरकारको क्रियाकलापले त्यो साबित गरिदिएको छ’, उनले भने । 

सरकारका मन्त्रीहरूले खुलेआम घुस डिल गरेको विषयमा मन्त्री गुप्ताले आफूलाई बचाउ गर्दै आएका छन भने प्रधानमन्त्री ओलीले पनि उनलाई जोगाउने योजनामा छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्री गुप्ताले प्रधानमन्त्रीकै आडमा आफूलाई बचाउ गरे ।

यति ठूलो काण्डा बाहिर आउँदा मन्त्रीले राजीनामा दिनुपर्ने या प्रधानमन्त्रीले बर्खास्ती गर्नुपर्ने आवाज सदनदेखि सडकसम्म उठेपनि त्यसको प्रधामनन्त्री ओलीले बेवास्ता गरेका छन् ।
एमालेका मुख्य सचेतक महेश बर्तोलाले मन्त्री स्वयमले यो विषयमा बुझेर निर्णय लिनु पर्नेमा त्यस्तो नहुँदा प्रधानमन्त्रीले अध्यायन गरेर यस विषयमा निर्णयमा पुग्ने बताए ।  प्रधानमन्त्री ओली गुप्तालाई मात्रै भन्दा पनि विवादित मन्त्रीहरूलाई एक मुष्ट हटाएर मन्त्रिपरिषद् नै पुनर्गठन गर्ने पक्षमा देखिएको नेताहरूको भनाइ छ ।

ADV

सम्बन्धित खबर

Advertise