२०८२ असार ३० गते सोमवार / Jul 14 , 2025 , Monday
२०८२ असार ३० गते सोमवार
Ads

पत्रकारिता शुद्धीकरण र संस्थागत सुधारमा प्रेस काउन्सिल दृढ

shivam cement
मध्यान्ह
२०८२ असार २९ गते २२:३४
पत्रकारिता शुद्धीकरण र संस्थागत सुधारमा प्रेस काउन्सिल दृढ

काठमाडौं : प्रेस काउन्सिल नेपालले समसामयिक प्रेस संकट, डिजिटल पत्रकारिता, आचारसंहिता कार्यान्वयन, संस्थागत सुधारलगायतका विषयमा बहुआयामिक निर्णय गर्दै प्रेस स्वतन्त्रता र जवाफदेहिताको दिशामा मार्गचित्र तय गरेको छ ।

काउन्सिल ऐन, २०४८ को दफा ८(३) बमोजिम सदस्य रामप्रसाद दाहालको अध्यक्षतामा सम्पन्न बैठकमा पछिल्लो समय सञ्चारमाध्यम तथा पत्रकारमाथि भइरहेका हस्तक्षेप, स्वतन्त्रताको दुरुपयोग, अदालतसम्म पुगेका मुद्दा र आर्थिक संकटजस्ता विषयमा गम्भीर छलफल भएको थियो ।

बैठकले संविधानको मर्मविपरीत पत्रकार र सञ्चारमाध्यमप्रति हुने कुनै पनि हस्तक्षेपप्रति स्पष्ट असहमति जनाउँदै यस्ता कार्यप्रति काउन्सिल सहमत नहुने निर्णय गरेको छ । पत्रकार र सञ्चारमाध्यमलाई आचारसंहिताको कडाइका साथ पालना गर्न आग्रह गर्दै काउन्सिलले प्रेस स्वतन्त्रताको सदुपयोगलाई थप सुदृढ बनाउने प्रतिबद्धता दोहो¥याएको छ । यसका लागि तालिम, अभिमुखीकरण तथा विज्ञ सूची अद्यावधिक गर्दै पत्रकारलाई निरन्तर सचेत गराउने निर्णय लिइएको छ ।

नयाँ कार्यकाललाई लक्षित गर्दै काउन्सिलले आगामी चार वर्षका लागि स्पष्ट कार्ययोजना निर्माण गरी कार्यान्वयनमा जाने निर्णयसमेत गरेको छ । साथै, पत्रकार आचारसंहिता, सञ्चार निर्देशिकालगायतका कार्यविधिहरू आवश्यकतानुसार संशोधन गर्दै लैजाने र युट्युबलगायत डिजिटल प्लेटफर्ममार्फत भइरहेको पत्रकारितालाई थप व्यवस्थित गर्ने तयारी गरिएको छ ।

बैठकले मित्रराष्ट्रका प्रेस काउन्सिलहरूसँग द्विपक्षीय सहकार्य र सम्झौता विस्तार गर्दै पहिल्यै भएका सम्झौतालाई निरन्तरता दिने निर्णय गरेको छ ।

काउन्सिलभित्र लामो समयदेखि संशोधन हुन नसकेका कार्यव्यवस्था नियमावली, आर्थिक प्रशासन विनियमावली र कर्मचारी विनियमावलीका सम्बन्धमा थप पहल गरेर आवश्यक सुधार गर्ने पनि बैठकले तय गरेको छ । साथै, काउन्सिलले आफ्ना निर्णयहरू संस्थागत रूपमा एकद्वार प्रणालीमार्फत सार्वजनिक गर्ने कार्यप्रणालीलाई अपनाउने भएको छ ।

काउन्सिल ऐनको दफा ९ बमोजिम गठन गरिएका उपसमितिमा सदस्यहरूको जिम्मेवारी तोकिएको छ भने उपसमितिको पुनर्गठन अध्ययन गर्न गठित हरिप्रसाद जोशी संयोजकत्वको टोलीको प्रतिवेदनलाई आगामी बैठकमा छलफल गरिने निर्णय गरिएको छ । त्यस्तै, प्रेस काउन्सिल पत्रकारिता पुरस्कार कार्यविधि, २०८१ अनुसार सिफारिस उपसमिति गठन गर्ने निर्णय भएको छ ।

बैठकले काउन्सिलमा कार्यरत करार कर्मचारीका विषयमा थप अध्ययन गरी अर्को बैठकमा छलफल गर्ने तयारीसमेत गरेको छ । आर्थिक वर्ष २०८१/८२ का कार्यहरू संशोधन र परिमार्जनसहित अभिलेख राख्ने निर्णय लिइएको छ भने निवर्तमान अध्यक्ष तथा सदस्यहरूलाई धन्यवाद दिने प्रस्तावसमेत पारित गरिएको छ ।

बैठकमा सदस्यहरू निमा काफ्ले, केशवशरण लामिछाने, नकुल अर्याल, पदमराज जोशी, बालकृष्ण अधिकारी, विजयराज अधिकारी, शन्तराम बिडारी र सदस्य सचिव मिनकुमार शर्माको उपस्थिति रहेको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट मनोनयन भएका नयाँ सदस्यहरूको सहभागितामा सम्पन्न यो बैठक प्रेस काउन्सिल नेपालको कार्यशैली रूपान्तरण गर्ने दिशातर्फको पहलका रूपमा हेरिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise