२०८२ असार ३० गते सोमवार / Jul 14 , 2025 , Monday
२०८२ असार ३० गते सोमवार
Ads

प्रतिष्ठानको नाममा पार्टी कार्यालय निर्माण, रोकियो भुक्तानी

shivam cement
नविन श्रेष्ठ
२०८२ असार २९ गते २१:२७
प्रतिष्ठानको नाममा पार्टी कार्यालय निर्माण, रोकियो भुक्तानी

सिन्धुली : नेकपा एमालेको पार्टी कार्यालय सञ्चालन भइरहेको आजाद स्मृति प्रतिष्ठानको नाममा भवन निर्माण गरिएकोमा शहरी विकास तथा भवन कार्यालय सिन्धुलीले भुक्तानी रोक्दा विवाद चुलिएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–६ मा रहेको उक्त पार्टी कार्यालयको भवन निर्माण कार्य सम्पन्न भइसके पनि कार्यालय प्रमुख दुर्गा घिमिरेले पूर्वाग्रही ढंगले भुक्तानी नदिएको भन्दै नेकपा एमाले सिन्धुलीले आपत्ति जनाएको छ । 

निर्माण उपभोक्ता समितिका अध्यक्ष एवं एमाले जिल्ला अध्यक्ष महेन्द्र देव श्रेष्ठले कार्यालय प्रमुख घिमिरेमाथि योजनामा २० प्रतिशत कमिसन माग्ने आरोपसमेत लगाउँदै नियमानुसार भुक्तानी नभए कानुनी बाटोमा जाने चेतावनी दिएका छन् । 

विवादित भवनको लागि आर्थिक वर्ष २०८१/८२ को बजेटअन्तर्गत वागमती प्रदेश सरकारबाट विनियोजित ३७ लाख ११ हजार ९ सय १४ रुपैयाँ ५० पैसाको लागतमा आजाद स्मृति प्रतिष्ठान र शहरी विकास तथा भवन कार्यालयबीच मिति २०८१/०९/२२ मा सम्झौता भएको थियो ।

निर्माण कार्य सम्पन्न भइसकेको र आवश्यक कागजात तथा निरीक्षण प्रतिवेदन बुझाइएको भए पनि शहरी विकास कार्यालयले भुक्तानी रोकिराखेकोमा अध्यक्ष श्रेष्ठले असन्तुष्टि जनाएका छन् । 

तर, शहरी विकास तथा भवन कार्यालयका प्रमुख घिमिरेले भने सो भवन आजाद स्मृति प्रतिष्ठानको नाममा नभइ नेकपा एमालेको नाममा रहेको जग्गामा निर्माण गरिएको भएकाले भुक्तानी दिन नसकिने स्पष्ट पारेका छन् । 

उनले भने, ‘प्रतिष्ठानको नाममा बजेट आएको हो, तर जग्गा र भवन नेकपा एमालेको नाममा रहेको प्रमाण देखिएकाले प्रमाणसहितको कागजात नआएसम्म भुक्तानी दिन सकिन्न ।’ उनले किर्ते कागज बनाइ दबाब दिइएको भन्दै आफ्नो चरित्र हत्या प्रयास भएको र अब कानुनी उपचारमा जाने चेतावनीसमेत दिएका छन् ।

यसैबीच, प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले गैरसरकारी संस्थाले राजनीतिक दलको सम्पत्तिमा संरचना निर्माण गर्ने प्रावधान नभएको स्पष्ट पारेका छन् । 

उनका अनुसार, गैरसरकारी संस्थाको विघटनपछि त्यसको सम्पत्ति राज्यको हुने भएकाले यस्तो प्रकारको सम्झौता र निर्माण कार्य गैरकानुनी हो । 

यता नेकपा एमालेका तत्कालीन जिल्ला सचिव सूर्य पाख्रिनले पनि पार्टीको कुनै बैठकबाट जग्गा प्रयोगका लागि निर्णय नभएको जिकिर गर्दै, सम्पूर्ण प्रक्रिया मनोमानी र एकलौटी भएको आरोप लगाएका छन् । 

उनका अनुसार, पार्टीको नियमित आम्दानी हुने गरी सटर र पार्किङसहितको पारदर्शी संरचना निर्माण हुनुपर्नेमा एकलौटी रूपमा उपभोक्ता समिति बनाइ अनियमित रूपमा निर्माण गरिएको हो । 

पूर्वअध्यक्ष कमलजंग राईले पनि राज्यको अनुदान प्रयोग नगरी कार्यकर्ताको सहयोगबाट मात्र भवन बनाउने धारणा राखेका थिए ।

त्यसैगरी, आजाद स्मृति प्रतिष्ठानका अध्यक्ष रमेश कुमार देवकोटाले भवन निर्माणको लागि पार्टीको जग्गामा प्रतिष्ठानको नाममा कागज प्रयोग गरिएको स्वीकार गरेका छन् । 

उनका अनुसार, भुक्तानीको प्रक्रिया र आम्दानी–खर्च विवरणमा आफू संलग्न नरहेको र सबै कार्य उपभोक्ता समिति तथा पार्टीकै तर्फबाट भएको हो । 

भवनको तेस्रो र चौथो तलामा प्रतिष्ठानको प्रयोग हुने भनिए पनि हालसम्म प्रतिष्ठानको कुनै कार्यालय छैन । अध्यक्ष देवकोटा भन्छन्,‘प्रतिष्ठानको नियमित काम नहुने भएकोले कहिलेकाहीं पार्टीको कार्यकक्षमै काम गर्नुपरेको छ ।’

हालको अवस्था हेर्दा, सिन्धुलीमा एमाले पार्टी कार्यालयको नाममा निर्माण गरिएको भवनमा सार्वजनिक बजेट प्रयोग गर्न खोजिएको आरोप र विवाद थप चर्किएको छ । एकातिर शहरी विकास कार्यालय कानुनी प्रक्रिया नपुगेको दाबी गर्दैछ भने अर्कोतर्फ एमाले नेताहरू राजनीतिक दबाबमा भुक्तानी रोकिएको बताइरहेका छन् । 

ADV

सम्बन्धित खबर

Advertise