२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

प्रतिष्ठानको नाममा पार्टी कार्यालय निर्माण, रोकियो भुक्तानी

Nada
नविन श्रेष्ठ
२०८२ असार २९ गते २१:२७
Shares
प्रतिष्ठानको नाममा पार्टी कार्यालय निर्माण, रोकियो भुक्तानी

सिन्धुली : नेकपा एमालेको पार्टी कार्यालय सञ्चालन भइरहेको आजाद स्मृति प्रतिष्ठानको नाममा भवन निर्माण गरिएकोमा शहरी विकास तथा भवन कार्यालय सिन्धुलीले भुक्तानी रोक्दा विवाद चुलिएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–६ मा रहेको उक्त पार्टी कार्यालयको भवन निर्माण कार्य सम्पन्न भइसके पनि कार्यालय प्रमुख दुर्गा घिमिरेले पूर्वाग्रही ढंगले भुक्तानी नदिएको भन्दै नेकपा एमाले सिन्धुलीले आपत्ति जनाएको छ । 

ncell

निर्माण उपभोक्ता समितिका अध्यक्ष एवं एमाले जिल्ला अध्यक्ष महेन्द्र देव श्रेष्ठले कार्यालय प्रमुख घिमिरेमाथि योजनामा २० प्रतिशत कमिसन माग्ने आरोपसमेत लगाउँदै नियमानुसार भुक्तानी नभए कानुनी बाटोमा जाने चेतावनी दिएका छन् । 

विवादित भवनको लागि आर्थिक वर्ष २०८१/८२ को बजेटअन्तर्गत वागमती प्रदेश सरकारबाट विनियोजित ३७ लाख ११ हजार ९ सय १४ रुपैयाँ ५० पैसाको लागतमा आजाद स्मृति प्रतिष्ठान र शहरी विकास तथा भवन कार्यालयबीच मिति २०८१/०९/२२ मा सम्झौता भएको थियो ।

निर्माण कार्य सम्पन्न भइसकेको र आवश्यक कागजात तथा निरीक्षण प्रतिवेदन बुझाइएको भए पनि शहरी विकास कार्यालयले भुक्तानी रोकिराखेकोमा अध्यक्ष श्रेष्ठले असन्तुष्टि जनाएका छन् । 

तर, शहरी विकास तथा भवन कार्यालयका प्रमुख घिमिरेले भने सो भवन आजाद स्मृति प्रतिष्ठानको नाममा नभइ नेकपा एमालेको नाममा रहेको जग्गामा निर्माण गरिएको भएकाले भुक्तानी दिन नसकिने स्पष्ट पारेका छन् । 

उनले भने, ‘प्रतिष्ठानको नाममा बजेट आएको हो, तर जग्गा र भवन नेकपा एमालेको नाममा रहेको प्रमाण देखिएकाले प्रमाणसहितको कागजात नआएसम्म भुक्तानी दिन सकिन्न ।’ उनले किर्ते कागज बनाइ दबाब दिइएको भन्दै आफ्नो चरित्र हत्या प्रयास भएको र अब कानुनी उपचारमा जाने चेतावनीसमेत दिएका छन् ।

यसैबीच, प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले गैरसरकारी संस्थाले राजनीतिक दलको सम्पत्तिमा संरचना निर्माण गर्ने प्रावधान नभएको स्पष्ट पारेका छन् । 

उनका अनुसार, गैरसरकारी संस्थाको विघटनपछि त्यसको सम्पत्ति राज्यको हुने भएकाले यस्तो प्रकारको सम्झौता र निर्माण कार्य गैरकानुनी हो । 

यता नेकपा एमालेका तत्कालीन जिल्ला सचिव सूर्य पाख्रिनले पनि पार्टीको कुनै बैठकबाट जग्गा प्रयोगका लागि निर्णय नभएको जिकिर गर्दै, सम्पूर्ण प्रक्रिया मनोमानी र एकलौटी भएको आरोप लगाएका छन् । 

उनका अनुसार, पार्टीको नियमित आम्दानी हुने गरी सटर र पार्किङसहितको पारदर्शी संरचना निर्माण हुनुपर्नेमा एकलौटी रूपमा उपभोक्ता समिति बनाइ अनियमित रूपमा निर्माण गरिएको हो । 

पूर्वअध्यक्ष कमलजंग राईले पनि राज्यको अनुदान प्रयोग नगरी कार्यकर्ताको सहयोगबाट मात्र भवन बनाउने धारणा राखेका थिए ।

त्यसैगरी, आजाद स्मृति प्रतिष्ठानका अध्यक्ष रमेश कुमार देवकोटाले भवन निर्माणको लागि पार्टीको जग्गामा प्रतिष्ठानको नाममा कागज प्रयोग गरिएको स्वीकार गरेका छन् । 

उनका अनुसार, भुक्तानीको प्रक्रिया र आम्दानी–खर्च विवरणमा आफू संलग्न नरहेको र सबै कार्य उपभोक्ता समिति तथा पार्टीकै तर्फबाट भएको हो । 

भवनको तेस्रो र चौथो तलामा प्रतिष्ठानको प्रयोग हुने भनिए पनि हालसम्म प्रतिष्ठानको कुनै कार्यालय छैन । अध्यक्ष देवकोटा भन्छन्,‘प्रतिष्ठानको नियमित काम नहुने भएकोले कहिलेकाहीं पार्टीको कार्यकक्षमै काम गर्नुपरेको छ ।’

हालको अवस्था हेर्दा, सिन्धुलीमा एमाले पार्टी कार्यालयको नाममा निर्माण गरिएको भवनमा सार्वजनिक बजेट प्रयोग गर्न खोजिएको आरोप र विवाद थप चर्किएको छ । एकातिर शहरी विकास कार्यालय कानुनी प्रक्रिया नपुगेको दाबी गर्दैछ भने अर्कोतर्फ एमाले नेताहरू राजनीतिक दबाबमा भुक्तानी रोकिएको बताइरहेका छन् । 

सम्बन्धित खबर