२०८२ असार २९ गते आइतवार / Jul 13 , 2025 , Sunday
२०८२ असार २९ गते आइतवार
Ads

प्रथम जलवायु सम्मेलन स्थल ‘गुफाडाँडा’ ओझेलमा

shivam cement
मध्यान्ह
२०८२ असार २९ गते ०९:५९
प्रथम जलवायु सम्मेलन स्थल ‘गुफाडाँडा’ ओझेलमा

सिन्धुलाल्चोक : प्रदेश र संघीय सरकारले मेलम्ची नगरपालिका वडा-९ स्थित  प्रथम जलवायु सम्मेलन स्थल ‘गुफाडाँडा’ मा पूर्वाधारका लागि उचित बजेट विनियोजन नगर्दा ओझेलमा परेको छ ।

पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको सो स्थानमा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि जनचेतना जगाउने ध्येयले ‘वातावरण संरक्षणमा सञ्चारकर्मीको योगदान’ भन्ने नाराका साथ पत्रकार पदयात्रा-२ आयोजना गरिएको छ । 

सम्पादक समाज नेपालद्वारा मेलम्ची नगरपालिकाको आतिथ्यमा मेलम्ची-९ स्थित  गुफा डाँडामा शनिबार आयोजित सो कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीको सहभागिता रहेको थियो । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले गुफाडाँडाको पर्यटकीय सम्भावनालाई प्रदेश र संघ सरकारले उचित ध्यान दिन नसकेको गुनासो गरे ।

“मुख्यमन्त्रीदेखि मन्त्रीहरूसम्म यहाँ आएर जनताको माझमा गरेका प्रतिबद्धताहरू अझै पूरा भएका छैनन् । यसले देखाउँछ कि प्रदेश सरकारले जनतालाई झुटा आश्वासन मात्र दिएको हो”, उनले भने । उनले गुफा डाँडालाई प्राकृतिक सुन्दरता, धार्मिक तथा सांस्कृतिक महत्त्वले भरिपूर्ण पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावनालाई औँल्याउँदै राज्यको चासो र लगानीको खाँचो रहेको बताए ।

मेलम्ची –९ वडाध्यक्ष किरण दीप खड्काले गुफाडाँडाको महत्त्व  र हालसम्म भए गरेका कामका बारेमा जानकारी गराए । उनले तीन तहका सरकारमध्ये स्थानीय तहले मात्र चासो दिँदा पर्यटकीय सङ्ख्यामा उल्लेख्य वृद्धि नभएको र अझै थुप्रै संरचना बनाउन आवश्यक रहेको छ भने ।  

सम्पादक समाज नेपालका संस्थापक अध्यक्ष किरण वैद्य र महासचिव श्याम डोटेलले ‘वातावरण संरक्षणमा सञ्चारकर्मीको योगदान’ विषयक अन्तरक्रियाले यस भेगको समस्या र चिन्तालाई बाहिर ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष ध्रुव दंगालले तीन तहका सरकारबीच सहकार्य र समन्वय नहुँदा कतिपय काम ओझेलमा पर्ने गरेको बताउँदै त्यसको उदाहरणका रूपमा गुफा डाँडालाई लिन सकिने बताए । 

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले वातावरणीय संकट र जलवायु परिवर्तनका असरबारे जनचेतना फैलाउने कार्यमा सञ्चारको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । साथै, जलवायु परिवर्तनविरुद्ध जुध्न स्थानीय, प्रदेश र संघ सरकारबीच समन्वयात्मक नीति र दीर्घकालीन योजना आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो ।

कार्यक्रम क्यौलेठाना आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।  गुफाडाँडा क्षेत्रलाई राष्ट्रिय जलवायु सम्मेलनस्थलका रूपमा विकास गर्न सकिने सम्भावना रहेको जनाउँदै सहभागीहरूले आवश्यक पूर्वाधार र बजेट सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

पदयात्रामा सहभागी सञ्चारकर्मीलाई शङ्खरापुर नगरपालिकाका नगरप्रमुख रमेश स्थापितले स्वागत गर्दै सम्पादक समाजसंगको सहकार्य जारी रहने जानकारी दिएका थिए । 

कार्यान्वयनमा आएन घोषणापत्र
विसं २०७७ मा तत्कालीन जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आयोजनामा देशभरका ७७ वटै जिल्लाको सहभागितामा प्रथम जलवायु सम्मेलन कार्यक्रम आयोजना गरिएको थियो । यसका लागि तत्कालीन जिल्ला समन्वय  प्रमुख कृष्णगोपाल तामाङले समन्वय गरेका थिए । जलवायु सम्मेलनदेखि नै गुफाडाँडाको चर्चा परिचर्चा हुन थालेको हो । जलवायुसम्बन्धी १० बुँदे घोषणापत्रसमेत जारी गरिएको थियो ।

काठमाडौँबाट ५४ किलोमिटरमा रहेको गुफा डाँडामा सोही बखत वातावरण र पृथ्वीलाई जोखाउनुपर्छ भन्ने सन्देश दिने खालको मानिसले पृथ्वी बोकेको प्रतिमा राखिएको छ । प्रतिमासम्म पुग्नका लागि सिँढी र सिँढी दायाबायामा ७७ जिल्लाको नाम र नेपालको झण्डा निर्माण गरिएको छ । सोपश्चात भ्यूटावर र अन्य पूर्वाधारको कामको थालनी भएको छ ।

ADV

सम्बन्धित खबर

Advertise