२०८२ असार २८ गते शनिवार / Jul 12 , 2025 , Saturday
२०८२ असार २८ गते शनिवार
Ads

प्रधानमन्त्रीद्वारा २ अस्पतालको उद्घाटन

shivam cement
मध्यान्ह
२०८२ असार २८ गते १७:०२
प्रधानमन्त्रीद्वारा २ अस्पतालको उद्घाटन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित अस्पतालको उद्घाटन गरेका छन् ।
माई नगरपालिका–२ दानाबारीमा निर्मित १५ शय्याको ‘माई नगर अस्पताल’ को उद्घाटन गरेका हुन् । आर्थिक वर्ष २०७७/०७८ देखि निर्माण सुरु भएको अस्पताल सङ्घीय सरकारको सहयोगमा १० करोड ७० लाख २४ हजार खर्च भएको नगर प्रमुख खम्बासिंह लिम्बूले बताए ।

साढे १० रोपनी क्षेत्रफलमा पार्किङसहितको दुई तलाको अस्पताल निर्माण गरिएको छ । नवनिर्मित अस्पताल भवनबाट शनिबारदेखि नै स्वास्थ्य सेवा सुरु भएको छ ।

२४सै घण्टा सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको माई नगर स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले बताए । अस्पतालबाट आकस्मिक, आधारभूत प्रयोगशाला, एक्स–रे, भिडियो एक्स–रे, इसिजी, फार्मेसीलगायत सेवा सञ्चालन गरिएको उनले जानकारी दिए ।

अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम समेत लागू गरिएको छ । नगरपालिकावासीको आधारभूत स्वास्थ्य उपचार पालिकाभित्र उपलब्ध गराउने र जटिल प्रकारका बिमारीलाई अन्य सुविधासम्पन्न अस्पतालमा रेफर गरेर जानुपर्ने भएकाले स्वास्थ्य बिमा कार्यक्रम पनि लागू गरिएको नगर प्रमुख लिम्बूले बताए ।

यस्तै, प्रधानमन्त्री ओलीले शनिबार नै भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन गरेका छन् ।  

झापाको बुद्धशान्ति गाउँपालिका–३ मा दाताले दिएको १५ कठ्ठा जग्गामा  छ करोड ५० लाखको लागतमा १० शय्या रहेको अस्पताल निर्माण भएको हो । नेपालकै पहिलो महिला प्रधानपञ्च भागीरथा न्यौपानेको स्मृतिमा उनको छोराछोरीले प्रदान गरेको उक्त जग्गामा अस्पताल निर्माण गरिएको बुद्धशान्ति गाउँपालिका एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मनोज प्रसाईंले बताए ।   

स्व. भागीरथा न्यौपाने तत्कालीन बुधवारे गाउँ पञ्चायतको प्रधानपञ्च थिए । उनकै स्मृतिमा अस्पतालको नामकरण गरिएको हो ।

अस्पतालमा एक जना एमडी, चार जना एमबीबीएस र एक जना रेडियोलोजिस्टसहित छ जना चिकित्सकले उपचार सेवा प्रदान गरिरहेका छन् । जसमध्ये पालिकाले आफ्नो स्रोतबाट तीन जना एमबीबीएस डाक्टर नियुक्त गरेको छ ।  

बाहिर र भित्र चिकित्सकीय सेवाअन्तर्गत अस्पतालमा सामान्य चिकित्सा, सामान्य शल्यक्रिया, स्त्री तथा प्रसूति उपचार, शिशु तथा बाल स्वास्थ्य उपचार, सामान्य दन्त सेवा, प्राथमिक आँखा उपचार, प्रयोगशाला सुविधा, फार्मेसी सुविधा, एक्स रे सुविधा र मुटुको इको सेवा सञ्चालन भइरहेको छ ।  

आगामी साउन १ गतेदेखि अस्पतालमा २४ घण्टा उपचार र बर्थिङ सेवा प्रदान गरिने अध्यक्ष प्रसाईंले बताए । 

इलाम जिल्लासँग सिमा जोडिएको बुद्धशान्ति गाउँपालिकाको एक मात्र सरकारी अस्पतालको रूपमा रहेको यो भागीरथा अस्पतालले बुद्धशान्तिको ५३ हजार जनसङ्ख्यालाई स्वास्थ्य उपचार सेवा प्रदान गर्नेछ भने दक्षिणी इलामबाट आउने सेवाग्राहीले उपचार पाउनेछन् ।

ADV

सम्बन्धित खबर

Advertise