२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

गण्डक नहरमा पानी नआउँदा रोपाइँ प्रभावित

Nada
इसत्याक अहमद
२०८२ असार २५ गते २२:४६
Shares
गण्डक नहरमा पानी नआउँदा रोपाइँ प्रभावित

पर्सा : गण्डक नहरमार्फत सिंचाइको पानी नआएपछि बारा र रौतहटका किसानहरू आक्रोशित बनेका छन् । 

ncell

धान रोपाइँको मुख्य सिजनमा सिंचाइ नपाउँदा खेतीमा गम्भीर असर परेको भन्दै किसानहरूले नारायणी सिंचाइ कार्यालय, वीरगञ्जप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । नारायणी सिंचाइ कार्यालयका प्रमुख मनोज पटेलको लापरबाहीका कारण किसानहरू पीडित भएको स्थानीयको आरोप छ । 

एक प्रेस विज्ञप्ति नै जारी गरेर भनिएको छ, ‘असार १४ गतेदेखि नै गण्डक नहरमा पानी आएको जानकारी गराइए पनि हालसम्म बारा र रौतहटका क्षेत्रमा पानी पुगेको छैन।’

कार्यालयका अनुसार हप्ताको बुधबारदेखि शनिबारसम्म बारा–रौतहटको पालो हुने व्यवस्था छ । तर तय गरिएको समयमै पानी नपुगेपछि किसानहरूले गैरजिम्मेवारीपन भएको टिप्पणी गरेका छन् । 

पर्साका एक किसानले कार्यालय प्रमुख पटेलले ठूलो रकम लिएर पानी वितरणमा अनियमितता गरेको आरोप लगाए । यता प्रमुख पटेल र इन्जिनियर ललन बैठले भारतीय पक्षको ढिलासुस्तीका कारण समस्या आएको भन्दै दोष भारतीय पक्षमाथि दिए । 

पानी नपुग्दा अधिकांश किसानहरू बोरिङ, चापाकल तथा पोखरीहरूमा निर्भर भइरहेका छन्, तर ती स्रोतहरू पनि सुक्दै गएपछि समस्या झन् जटिल बन्दै गएको छ ।

रौतहटका एक किसानले भने, ‘यदि अबका केही दिनभित्र नहरमा पानी नआए, हामी किसानहरू हजारौंको संख्यामा नारायणी सिंचाइ कार्यालय घेराउ गर्न बाध्य हुनेछौं।’

हालसम्म पनि पानी नआएको कारण किसानहरूले धानको बिउ सुक्ने र रोपाइँ गर्न सक्ने समयसमेत खेर जाने चिन्ता व्यक्त गरिरहेका छन् ।

सम्बन्धित निकायले समस्या समाधानमा चाँडो पहल नगरे संकट थप गहिरिने संकेत देखिएको छ ।

सम्बन्धित खबर