२०८२ असार २५ गते बुधवार / Jul 09 , 2025 , Wednesday
२०८२ असार २५ गते बुधवार
Ads

सामाजिक कुरीतिविरुद्ध जागरुग बनाउँदै सिंजा गाउँपालिका

shivam cement
दिलमाया शाही
२०८२ असार २४ गते २०:४०
सामाजिक कुरीतिविरुद्ध जागरुग बनाउँदै सिंजा गाउँपालिका

जुम्ला : सामाजिक कुरीतिबाट किशोरीहरूलाई जोगाउने उद्देश्यसहित जुम्लाको सिंजा गाउँपालिकामा दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा, आधुनिक महिला जागरण प्रालिको आयोजना र पेस नेपालसँगको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो । 

कार्यक्रममा विभिन्न वडाका २० जना किशोरीहरूलाई बालविवाह, छाउपडी प्रथा, लैंगिक विभेद, घरेलु हिंसा लगायत सामाजिक कुरीतिबाट उत्पन्न प्रभाव र समाधानका उपायबारे प्रशिक्षण दिइएको थियो । साथै किशोरी शिक्षाको महत्व, आत्म–विश्वास विकास, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी आधारभूत ज्ञान, र नेतृत्व क्षमताको विकासबारे समेत सशक्त प्रशिक्षण दिइएको थियो । 

कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धिताल र उपाध्यक्ष सितली रोकायाले संयुक्त रूपमा गरेका थिए । उपाध्यक्ष रोकायाले भनिन्,‘किशोरीहरूलाई शिक्षित, सक्षम र सजग बनाएर मात्र समाजबाट कुरीति हटाउन सकिन्छ । यो कार्यक्रम किशोरीमैत्री समाज निर्माणतर्फ एक महत्त्वपूर्ण कदम हो’ उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन् ।

अध्यक्ष धितालले सहभागी किशोरीहरूलाई आफ्ना अनुभव र सामाजिक चुनौतीहरू खुलस्त रूपमा राख्न आग्रह गर्दै भने,‘यस्ता कार्यक्रमले किशोरीहरूलाई आत्मबलयुक्त बनाउनेछन् ।’

आधुनिक महिला जागरण प्रालिकी अध्यक्ष दिलमाया शाहीले समाजमा अझै पनि महिला र किशोरीमाथि अन्यायकारी सोच हावी रहेको बताइन् ।  उनले भनिन्,‘जब अलिखित नियमहरूले कानुनभन्दा बढी प्रभाव पार्छ, तब कानुनी अधिकारहरू व्यवहारमा आउन सक्दैनन् ।’

उनले सामाजिक सोच परिवर्तन गर्न सामुदायिक स्तरमै पहल आवश्यक रहेकोमा जोड दिइन् । महिला तथा बालबालिका शाखाकी प्रमुख बस्ना बुढाले सामाजिक कुरीति अन्त्यका लागि शिक्षा, कानुनी कार्यान्वयन र सामाजिक चेतनामा आमूल परिवर्तन ल्याउनुपर्ने बताउँदै किशोरीमैत्री कार्यक्रमहरूलाई गाउँपालिकाको प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याइन् । 

कार्यक्रममा सहभागी किशोरीहरूले पनि सामाजिक कुरीति अन्त्यका लागि विद्यालय तहबाट लैंगिक समानता तथा मानव अधिकार सम्बन्धी शिक्षा, अभिभावक र समुदायलाई सचेतना कार्यक्रम, परामर्श सेवा, हेल्पलाइन र सुरक्षित स्वास्थ्य सेवा सुनिश्चित गर्न माग गरेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise