काठमाडौं : सांसद किरण कुमार साहले अफताब आलमलाई सफाइ दिने न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्थनमाथि तत्काल महाभियोग लगाउन माग गरेका छन् । सोमबार बसेको संसद् बैठकमा बोल्दै सांसद साहले थारु र महर्जनमाथि महाभियोगको माग गरेका हुन् ।
‘रौतहटमा जिउँदै इटाभट्टा जलाएर मारिएको जघन्य घटनामा दोषी ठहर भएका अफताब आलमलाई उच्च अदालतको कार्यालय वीरगञ्जले सफाइ दिएको छ । उक्त फैसला जिल्ला अदालतको जन्मकैदको फैसला उल्टाउने खालको छ । अहिले मिडिया र जनमानसमा यो निर्णयलाई राजनीतिक संरक्षणको परिणामको रूपमा व्याख्या गरिएको छ । यदि सरकार साँच्चै स्वतन्त्र न्यायापालिका चाहन्छ र कुनै राजनीतिक संरक्षण नभएको प्रमाणित गर्न चाहन्छ भने सो फैसला सुनाउने उच्च अदालतका न्यायाधीश खुसीराम थारु र अर्जुन महर्जनमाथि तत्काल महाभियोग प्रक्रिया अगाडि बढाउनुपर्छ,’ उनले भने ।
यदि त्यसो नभए उनीहरूलाई सरकारले नै संरक्षण प्रदान गरिरहेको ठहर हुने उनले बताए । ‘यदि यस्तो कदम चालिँदैन भने गठबन्धन सरकारले नै अफताब आलमलाई उपहारस्वरूप सफाइ दिएको भन्ने सन्देश जान्छ । यस्तो अवस्थामा लोकतन्त्र र न्याय प्रणाली गम्भीर अपमान हो,’ उनले भने । यस्तै साहले राजनीतिक भागबन्डामा न्यायाधीशको नियुक्ति तत्काल रोक्नसमेत आग्रह गरेका छन् ।
जिउँदै जलाएर व्यक्ति हत्या गरेको आरोप लागेका आलमलाई थारु र महर्जनले गत जेठ १४ गते सफाइ दिएका थिए । आलममाथि २०७६ साल असोजमा व्यक्ति हत्या गरेको आरोप लागेको थियो । संविधान सभाको निर्वाचनको अघिल्लो राति २०६४ चैत २७ गते रौतहटको राजपुरस्थित इँटाभट्टामा त्रिलोकप्रताप सिंह, ओशी अख्तरसहित घाइतेलाई जिउँदै जलाएर हत्या गरेको आरोप आलममाथि थियो । घटनाको १२ वर्षपछि उनी पक्राउ परेका थिए । तर, सफाइ पाए ।