२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

गोदावरीका उत्कृष्ट विद्यार्थीसहित अभिभावक सम्मानित

Nada
माधवप्रसाद घिमिरे
२०८२ असार २२ गते २०:४०
Shares
गोदावरीका उत्कृष्ट विद्यार्थीसहित अभिभावक सम्मानित

ललितपुर : गोदावरी नगरपालिका–३ ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र तिनका अभिभावकलाई सम्मान गरेको छ । आइतबार वडा कार्यालयमा आयोजित कार्यक्रममा नगरभित्रका विभिन्न ८ विद्यालयका १८ जना विद्यार्थीहरूलाई सम्मान गरिएको हो । 

ncell

सम्मानित विद्यार्थीहरूमा किटानी माध्यमिक विद्यालयका स्वस्तिका राई, बसन्ती विक, रोहन तिमल्सिना, सरिता मोक्तान, जयश्री रोकाया र रुबिन धिताल, पुष्पाञ्जली अंग्रेजी माध्यमिक विद्यालयका समृद्धि बस्नेत, मञ्जिल महत, सुमना श्रेष्ठ र आशिष लिम्बु, सुर्योदय शैक्षिक प्रतिष्ठानका सार्थक आचार्य, क्रसेन्ट अंग्रेजी माध्यमिक विद्यालयका प्रदिका लामा र मञ्जिला मगर, विद्यासागर अंग्रेजी माध्यमिक विद्यालयका युनिका शेर्पा, रुविन बिसुंखे र आस्था विसुंखे तथा सेन्ट जेभियर गोदावरीका शान्वीश्री सिल्वाल र स्तुति सुवेदी रहेका छन् । 

कार्यक्रममा गोदावरी नगरप्रमुख गजेन्द्र महर्जनले उत्कृष्ट नतिजा प्राप्त विद्यार्थी, विद्यालय र अभिभावकको प्रयासको प्रशंसा गर्दै अध्ययनमा लगनशीलता, इच्छाशक्ति र आत्मविश्वासको महत्व औँल्याए । ‘महंगो कलेजभन्दा पनि इच्छाशक्ति र मेहनतले सफलता मिल्छ,’ उनले भने, ‘गोदावरीमै उत्कृष्ट शिक्षा प्राप्त गर्न सकिने वातावरण बनेको छ ।’

महर्जनले नगरपालिकाभित्र कम शुल्कमा प्राविधिक शिक्षा दिने विद्यालय सञ्चालनको तयारी भइरहेको जानकारी पनि दिए ।

नगर उपप्रमुख मुना अधिकारीले सामुदायिक विद्यालयको नतिजा सुधारतर्फ नगरपालिकाले विशेष ध्यान दिएको उल्लेख गर्दै सबै विद्यार्थीलाई माध्यमिक तहपछि उच्चशिक्षा हासिल गर्न उत्प्रेरित गरिनुपर्ने धारणा राखिन् । 

वडा अध्यक्ष सानुराज (राज) घिमिरेले आफू अध्ययनरत हुँदा यस्तो सम्मानको कल्पना पनि गर्न नसकिने बताउँदै अहिलेको अवसरलाई सदुपयोग गरेर विद्यार्थीहरू उज्वल भविष्य निर्माणमा लाग्न आग्रह गरे । 

शिक्षा तथा खेलकुद शाखा प्रमुख दिनानाथ पन्थीले गोदावरी नगरपालिकालाई शिक्षाको ‘हब’ बनाउने अभियानमा सबै विद्यालयको योगदान उल्लेख गर्दै पछिल्ला वर्षहरूमा आएको गुणात्मक सुधार उल्लेखनीय रहेको बताए ।

वडा सदस्य सन्तोष कुँवरले गोदावरी नगरपालिकाबाट शिक्षा हासिल गरेका धेरै नेपालीहरू आज अमेरिका, बेलायत जस्ता मुलुकमा शिक्षण पेशामा योगदान दिइरहेका उदाहरण प्रस्तुत गर्दै विद्यालयहरूको स्तर अझ उकास्न सबैले मिलेर लाग्नुपर्ने बताए ।

कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय जनप्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो । आयोजक वडाले आगामी दिनमा पनि शिक्षा क्षेत्रमा लगानी र प्रेरणा दिने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

सम्बन्धित खबर