बझाङ : बझाङको बुङल नगरपालिका–२ लौने गाउँका बालबालिका अहिले पनि चार घण्टा हिँडेर विद्यालय पुग्नुपर्ने बाध्यतामा छन् । करिब १५ घरधुरी रहेको यो गाउँमा शैक्षिक पूर्वाधारको अभावले बालबालिका शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थामा पुगेका हुन् ।
यसअघि सञ्चालनमा रहेको भवानी आधारभूत विद्यालय बुङल नगरपालिकाले अर्कै विद्यालयमा मर्ज गरेपछि गाउँका करिब ३० जना बालबालिकाको पठनपाठनमा समस्या सिर्जना भएको छ ।
विद्यालय हटाएपछि अहिले गाउँमा केवल जीर्ण भवन र भाँचिएका बेञ्चमात्र छन् । स्थानीय वीरबहादुर धामीका अनुसार भवानी आधारभूत विद्यालय गाउँमै चन्दा (काचो) उठाएर स्थापना गरिएको विद्यालय हो । उनी भन्छन् -'नगरपालिकाले हाम्रो इच्छाविपरीत विद्यालय हटायो, जसले छोराछोरीको भविष्यसँग खेलवाड गरेको छ । अहिले त आधारभूत तहको पढाइका लागि पनि चार घण्टा पैदल यात्रा गर्नु परेको छ ।'
अर्का स्थानीय हर्कबहादुर धामीको पनि भनाइ उस्तै छ । उनी भन्छन् - 'गाउँमा पढाउने अवस्था नरहेपछि केटाकेटीलाई बुङल नगरका अन्य विद्यालय र घनगढी, काठमाडौंसम्म पठाउनुपर्ने बाध्यता आएको छ । गाउँ नै छाड्नुपर्ने परिस्थिति आएको छ।'
विद्यालय दरबन्दी मिलानपछि एकमात्र शिक्षक जेनिसा बोहरा पनि हाल बाख्रा चराउन बाध्य भएकी छन् । २०७३ सालमा मानबहादुर धामीको अगुवाइमा विद्यालय स्थापना भएको थियो ।
संघीय सरकारले आर्थिक वर्ष २०७६/७७ मा १० लाख रुपैयाँ बजेट विनियोजन गरेपछि भवन निर्माण गरिएको थियो । तर अहिले उक्त भवनसमेत जीर्ण अवस्थामा पुगेको छ ।
हाल गाउँका अधिकांश बालबालिका अन्य स्थानमा डेरा गरेर पढ्न बाध्य छन् । अभिभावकहरू विद्यालय पुनः सञ्चालन गरियोस् र गाउँमै शिक्षाको सहज पहुँच सुनिश्चित गरियोस भन्नेमा छन् तर स्थानीय सरकारले तदारुकता देखाएको छैन ।
के भन्छ स्थानीय सरकार ?
बुङ्गल नगरपालिकाले विद्यार्थी संख्या न्यून भएको भन्दै लौने गाउँमा रहेको विद्यालय मर्ज गरेको बताएको छ । नगरपालिका शिक्षा शाखा स्रोतका अनुसार पछिल्लो समय विद्यालयको डाटा संकलन गर्दा लौने गाउँमा रहेको विद्यालयमा अध्ययनरत विद्यार्थीको संख्या अत्यन्त कम थियो । विद्यालयमा आवश्यक संख्याको विद्यार्थी नभएको अवस्थामा गुणस्तरीय शिक्षाको प्रत्याभूति दिन गाह्रो हुने नगर प्रमुखको भनाइ छ ।