काठमाडौं : लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५–एल अन्तर्गत लायन वर्ष २०२४/२५ का लागि आयोजित चौंथो क्याबिनेट बैठक तथा अवार्ड वितरण कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं शुभ आरम्भलाई उत्कृष्ट क्लब घोषित गरिएको छ ।
शनिबार धुलिखेलमा सम्पन्न कार्यक्रममा क्लबले डिष्ट्रिक्टभित्र सबैभन्दा धेरै सामाजिक सेवाका कार्यहरू गरेको आधारमा टप–५ क्लबमध्ये उत्कृष्ट पहिलो क्लबको रूपमा घोषणा पाएको हो । कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक्ट गर्भनर सुमन भट्ट क्षेत्रीले क्लबका अध्यक्ष सुशान्त न्यौपानेलाई अवार्ड र प्रमाणपत्र प्रदान गर्दै सम्मानित गरे ।
कार्यक्रममा शुभ आरम्भ क्लबका संस्थापक अध्यक्ष भाष्कर श्रेष्ठ ‘डेडिकेटेड लायन अफ द इयर’ अवार्डबाट सम्मानित भए भने क्लबका सचिव सुरज कार्की ‘सेक्रेटरी अफ द इयर’ अवार्ड प्राप्त गर्न सफल भए ।
यसैगरी क्लबले ‘सर्भिस वीक अवार्ड २०२५’ र ‘मेम्बर ग्रोथ अवार्ड’ समेत प्राप्त गरेको छ । क्लबका पूर्वअध्यक्ष राजेश श्रेष्ठ ‘ग्लोरियस लायन अफ डिष्ट्रिक्ट’ र प्रथम उपाध्यक्ष बिन्जु श्रेष्ठ ‘साइनिङ लायन अफ डिष्ट्रिक्ट’ अवार्डबाट सम्मानित भए । टिचिङ अस्पताल लायन्स ब्लड बैंक स्थापनार्थ एलसिआईएफ मार्फत आर्थिक सहयोग गरेबापत क्लब तथा उपाध्यक्ष बिन्जु श्रेष्ठलाई सम्मान–पत्र प्रदान गरिएको थियो ।
शुभ आरम्भ क्लबले चालू वर्षमा मात्रै २०० भन्दा बढी सामाजिक सेवाका कार्यहरू सम्पन्न गरेको जनाएको छ । क्लबको सेवा कार्यको प्रशंसा गर्दै डिष्ट्रिक्ट गर्भनर क्षेत्रीले “सबैभन्दा बढी सेवा कार्यक्रम सम्पन्न गरेको क्लब”को रूपमा क्लबलाई उत्कृष्ट क्लब घोषणा गरिएको जानकारी दिए ।
अध्यक्ष सुशान्त न्यौपानेलाई यसै वर्ष लायन्स इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्टबाट पनि उच्चतम सामाजिक सेवाका कार्यका लागि सम्मान गरिएको छ । अवार्ड प्राप्त गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष न्यौपानेले, “वार्षिक रूपमा गरिएका सेवा कार्यको उचित मूल्याङ्कन भएको छ,” भन्दै आगामी दिनमा ती कार्यहरूलाई समेटेर सेवा पुस्तक प्रकाशन गर्ने योजना रहेको बताए ।