२०८२ असार २१ गते शनिवार / Jul 05 , 2025 , Saturday
२०८२ असार २१ गते शनिवार
Ads

सिंजामा आवासीय बालगृह सञ्चालन

shivam cement
दिलमाया शाही
२०८२ असार २० गते २०:२६
सिंजामा आवासीय बालगृह सञ्चालन

जुम्ला : जुम्लाको सिंजा गाउँपालिकामा अपाङ्गता भएका तथा अभिभावकविहीन बालबालिकाका लागि आवासीय बालगृह सञ्चालनमा ल्याइएको छ । 

आर्थिक अभावका कारण अध्ययन गर्न नसकेका बालबालिकालाई लक्षित गर्दै गाउँपालिकाको आर्थिक सहयोगमा बालगृह सञ्चालनमा ल्याइएको हो । बालगृहले शिक्षा र स्याहारको अवसर उपलब्ध गराउने उद्देश्य राखेको छ । 

सिंजा गाउँपालिका–३ मा रहेको फुटासिल आधारभूत विद्यालयसँग आबद्ध बालबालिकाहरूको अध्ययन र आवासीय सुविधा व्यवस्थापनको जिम्मा स्थानीय संस्था अपाङ्गता सशक्तिकरण केन्द्रलाई दिइएको छ । गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धिताल र उपाध्यक्ष सितली रोकायाले संयुक्त रूपमा बालगृहको उद्घाटन गरेका छन् । 

अध्यक्ष धितालका अनुसार, प्रारम्भिक चरणमा १५ जना विपन्न तथा अपाङ्गता भएका बालबालिकालाई आवासीय सुविधा दिइएको छ । ती बालबालिकाहरू हाल नियमित रूपमा विद्यालयमा अध्ययनरत छन् । 

उद्घाटन कार्यक्रममा वडा नं. ३ का अध्यक्ष सुरथबहादुर रावतले बालगृहको गुणस्तरीय व्यवस्थापनमा गाउँपालिका र वडा कार्यालयले उच्च प्राथमिकता दिने बताए । 

त्यस्तै, गाउँपालिकाको शिक्षा शाखा प्रमुख शंकर धितालले विद्यालयबाहिर रहेका तथा अध्ययनबाट बञ्चित बालबालिकालाई शिक्षाको मुख्य धारमा ल्याउन बालगृह सहयोगी हुने जानकारी दिए । उनले कार्यक्रमको सफलताका लागि स्थानीय सरकार, समुदाय र सरोकारवालाको सहकार्य अपरिहार्य रहेकोसमेत बताए ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय सदस्य रामकृष्ण न्यौपानेले अपाङ्गता भएका बालबालिकाको शिक्षामा ग्यारेन्टी सुनिश्चित गर्न बालगृहले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै गाउँपालिकालाई विशेष आभार प्रकट गरे । 

यसअघि जुम्लाकै हिमा गाउँपालिकामा पनि आवासीय विद्यालय सञ्चालनमा ल्याइएको थियो, जहाँ ५० भन्दा बढी बालबालिकाले आवासीय सुविधा प्राप्त गर्दै अध्ययन गरिरहेका छन् । अब सञ्चालनमा आएको सिंजा बालगृहले पनि शिक्षा र संरक्षणका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise