२०८२ असार १९ गते बिहिवार / Jul 03 , 2025 , Thursday
२०८२ असार १९ गते बिहिवार
Ads

शैक्षिक वातावरण सुधार्न तालिम

shivam cement
कृष्ण तिवारी
२०८२ असार १८ गते २०:१७
शैक्षिक वातावरण सुधार्न तालिम

रौतहट : रौतहटको फतुवा बिजयपुर नगरपालिकाले शैक्षिक क्षेत्र सुदृढ बनाउने उद्देश्यले बाल विकास सहजकर्ता, विद्यालय सहयोगी र लेखापालका लागि छुट्टाछुट्टै पाँच दिने क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । 

नगरपालिकाले ३२ वटा सामुदायिक बाल विकास केन्द्रमा कार्यरत ४२ जना सहजकर्ताको मनोबल वृद्धि, व्यवहारिक ज्ञान र कक्षाकोठामा सकारात्मक सिकाइ वातावरण निर्माणका लागि तालिम दिइएको हो । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवले तालिमको औचित्यबारे बताउँदै भने, ‘बाल विकास सहजकर्ताहरूले थोरै पारिश्रमिक, सामग्रीको अभाव र कार्यको मूल्याङ्कन नहुनुजस्ता कारणले हतोत्साहित हुने गरेका छन् । उनीहरूलाई उत्साहित बनाएर मात्र बालबालिकाको शिक्षामा गुणस्तर ल्याउन सकिन्छ ।’

कार्यक्रममा शिक्षा शाखा प्रमुख सुबोध यादवले सहजकर्ताहरूलाई तालिम र सीपमार्फत सक्षम बनाउनेतर्फ नगरपालिकाले ध्यान दिँदै आएको बताए । उनले भने, ‘शिक्षक वा सहजकर्ताको व्यवहार र कार्यशैली नै कक्षाकोठाको वातावरण निर्धारण गर्छ । तालिमले उनीहरूको आत्मविश्वास बढाउँछ र सिकाइ प्रक्रियामा सुधार ल्याउँछ ।’

साथै, नगरपालिकाले माध्यमिक तहका विद्यालय लेखापालहरूलाई समेत आवश्यक लेखा ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले तालिम प्रदान गरेको छ । माँ सरस्वती प्राथमिक विद्यालयमा सम्पन्न उक्त तालिममा सचिन्द्र यादव, सुरेश लामिछाने, मदन मोहन यादव र गोबिन्द चौधरीले प्रशिक्षण दिएका थिए ।

यसैगरी, विद्यालय सहयोगीहरूका लागि समेत पाँच दिने क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको छ । प्रशिक्षक मदन मोहन यादव र पुरुषोत्तम हरि घिमिरेले उनीहरूलाई पेशागत जिम्मेवारी, कार्यव्यवहार र विद्यालय वातावरणमा सकारात्मक भूमिका निर्वाह गर्ने सम्बन्धमा तालिम प्रदान गरेका थिए ।

तीन वटै तालिमको उद्देश्य शिक्षण वातावरण सुधार, कर्मचारीको पेशागत दक्षता वृद्धि र विद्यालय व्यवस्थापनलाई प्रभावकारी बनाउने रहेको शिक्षा संयोजक सुबोध यादवले जानकारी दिए । 

नगरपालिकाले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने र शैक्षिक क्षेत्रलाई गुणस्तरीय बनाउन थप योजनाहरू अघि बढाउने जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise