२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

अगुवा महिलाहरूलाई क्षमता अभिवृद्धि तालिम

Nada
रमेशबहादुर सिंह
२०८२ असार १८ गते २०:१६
Shares
अगुवा महिलाहरूलाई क्षमता अभिवृद्धि तालिम

बझाङ : बझाङको थलारा गाउँपालिकाले महिला सशक्तीकरणका लागि अगुवा महिलाहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । गाउँपालिकाका विभिन्न वडाबाट करिब ५० जना महिलाको सक्रिय सहभागिता रहेको उक्त तालिमले नेतृत्व विकास, सामाजिक चेतना विस्तार, समावेशी सहभागिता र कानुनी जानकारी सुदृढीकरणमा केन्द्रित थियो । 

ncell

कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले महिला सशक्तीकरणलाई पालिकाले प्राथमिकतामा राखेको बताए । उनले महिलाहरूलाई सामाजिक तथा राजनीतिक रूपमा सक्षम बनाउँदै नेतृत्वदायी भूमिकामा लैजाने यस्ता तालिमहरू आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । 

उपाध्यक्ष राम बहादुर खातीले तालिममार्फत महिलामा व्यवहारिक नेतृत्व र निर्णय प्रक्रियामा सहभागी हुने क्षमताको विकास हुने विश्वास व्यक्त गरे । उनले भने,‘महिलाबिना विकास सम्भव छैन। नेतृत्व लिने महिला तयार गर्नु नै दीगो विकासको आधार हो ।’

तालिमको सहजीकरण पत्रकार महासंघ बझाङका पूर्वअध्यक्ष जगदिश रोकायाले गरेका थिए भने प्रशिक्षण सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीले दिएकी थिइन् । उनीहरूले स्थानीय शासन, कानुनी अधिकार, लैङ्गिक समानता, मानव अधिकार, योजना निर्माण र सार्वजनिक बजेट निगरानी सम्बन्धी विषयमा जानकारी गराएका थिए ।

सहायक प्रमुख जिल्ला अधिकारी जोशीले सहभागी महिलालाई सामाजिक परिवर्तनका अगुवा बन्न प्रेरणा दिँदै भनिन्, ‘तपाईंहरू आफैं परिवर्तनको प्रतिनिधि बन्नुपर्छ । नेतृत्व लिन, बोल्न र हस्तक्षेप गर्न सक्ने बनाउनु तालिमको मुख्य उद्देश्य हो ।’

सहभागी महिला पशुपति भट्टराईले तालिमले आत्मविश्वास, ज्ञान र सीप विकासमा ठूलो भूमिका खेलेको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘पहिले हामी सार्वजनिक कुरा गर्न हिच्किचाउँथ्यौं, अब नेतृत्व गर्न पनि तयार छौं ।’ उनले गाउँपालिकालाई आगामी दिनमा यस्ता कार्यक्रम थप गर्न अनुरोधसमेत गरिन्  ।

थलारा गाउँपालिकाले आगामी वर्षका योजनामा महिला नेतृत्व विकास, उद्यमशीलता प्रवर्द्धन र सीपमूलक तालिमहरूलाई उच्च प्राथमिकता दिने जनाएको छ । यस्ता कार्यक्रमहरूले गाउँको सामाजिक संरचनामा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर