२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

विनयी खोलाको नयाँ पुल तयार, भोलिदेखि गाडी चल्ने

Nada
२०८२ असार १८ गते १७:१५
Shares
विनयी खोलाको नयाँ पुल तयार, भोलिदेखि गाडी चल्ने

नवलपरासी : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दुम्कीबासस्थित बुटवल–नारायणगढ खण्डको विनयी खोलामा बनेको नयाँ पुल तयार भएको छ । पुल भएर बिहीबारदेखि यातायात सञ्चालन हुने छ ।

ncell

नारायणगढ–बुटवल सडक योजना पूर्वीखण्डका प्रमुख इन्जिनियर ईश्वरबहादुर रिजालका अनुसार नयाँ पुलको भारवहन क्षमता बलियो देखिएकाले बिहीबार बिहान ११ बजेदेखि २४५ मिटर लामो पुल महेन्द्रराजमार्ग हुँदै सबै सवारी साधन ओहोरदोहोर गराइनेछ । 

गत वर्ष पुस २६ गते ५ दशक पुरानो पुल भत्किएपछि डाइभर्सन बनाएर गाडी चलेको थियो । तर डाइभर्सन समेत खोलामा पानीको बहाव बढ्दा बगाइरहने समस्याले यहाँ हरेक दिन यातायात सञ्चालनमा सास्ती भएको थियो ।

त्यसपछि गत जेठ २४ गते पक्की पुलको अन्तिम भाग ढलान गरिएको थियो । पुलले आवश्यक लोड धान्न सक्ने भएपछि बिहीबारदेखि निरन्तर रूपमा यातायात सञ्चालन हुने भएको हो ।

७.५ मिटर चौडाइ भएको पुलको देब्रे भागमा फुटपाथसमेत रहेको छ । यो पुल नबन्दा खोलामा डाइभर्सन बनाएर निकै जोखिमपूर्ण रुपमा सवारी साधानहरू वारपार गर्दै आएका थिए । 

डाइभर्सनबाट जान नसक्ने साना सवारी साधनहरुले घुमाउरो सडकको प्रयोग गर्दै आएका थिए । अब पुल सञ्चालनमा आएपछि यात्रा सहज हुनेछ ।

दाउन्ने क्षेत्रमासमेत सडक विस्तारको लागि कामका साथसाथै र बर्खामा यातायातको सहज सञ्चालनका लागि प्रयास भइरहेको आयोजनाले जनाएको छ ।
 

सम्बन्धित खबर