२०८२ असार १७ गते मङ्गलवार / Jul 01 , 2025 , Tuesday
२०८२ असार १७ गते मङ्गलवार
Ads

जुम्लाको तीला–७ मा पक्की सिँचाइ कुलो निर्माण, ८६ घरधुरी लाभान्वित

shivam cement
कमल कुमाल
२०८२ असार १७ गते १२:०६
जुम्लाको तीला–७ मा पक्की सिँचाइ कुलो निर्माण, ८६ घरधुरी लाभान्वित

जुम्ला : जुम्लाको तीला गाउँपालिका–७ स्थित झुसेअरादेखि बल्लाबाटा हुँदै लुलेसम्मको सिँचाइ कुलो निर्माण सम्पन्न भएको छ । कुलो निर्माणसँगै स्थानीयवासी उत्साहित बनेका छन् ।

गाउँपालिका र बेलायती राजदूतावासको आर्थिक सहयोगमा सञ्चालित ‘स्थानीय पूर्वाधार सहयोग कार्यक्रम’ अन्तर्गत ३६० मिटर लम्बाइको पक्की कुलो निर्माण भएको हो । अघिल्ला वर्षसम्म बसौँदेखि काठको पँदालो प्रयोग गरेर खेतमा पानी झार्दै आएका स्थानीयले अब भने दीर्घकालीन सिँचाइ समाधान पाएको प्रतिक्रिया दिएका छन् ।

वडा अध्यक्ष खम्बीलाल रोकायाका अनुसार, “कुलो निर्माणपछि हरेक वर्ष काठको पँदालो बदल्नुपर्ने झन्झट हटेको छ । यसले जंगलको फडानीसमेत रोकिनेछ ।”

कुलो निर्माणमा स्थानीय श्रमिकहरू समेत संलग्न गरिएका थिए । विगतमा रोजगारीका लागि भारत जानुपर्ने बाध्यतामा रहेका युवाहरू यस पटक गाउँमै आम्दानीको स्रोत पाएर सन्तुष्ट देखिएका छन् ।

उपभोक्ता समितिका अध्यक्ष आइते रोकायाका अनुसार कामदारहरूलाई छनोट गरी उनीहरूको बैंक खातामार्फत पारदर्शी रूपमा ज्याला भुक्तानी गरिएको हो ।

महिला श्रमिक बाँचु रोकाया भन्छिन्, “पहिले नगदमा ज्याला पाउँदा ढुक्क हुन सकिँदैनथ्यो । अहिले बैंकमार्फत तलब आउँछ, जसले सुरक्षित महसुस गराउँछ ।” उनले महिला तथा पुरुष दुवैलाई समान ज्याला दिइएको र कार्यस्थलमा प्राथमिक उपचारको व्यवस्था गरिएको जानकारी दिइन् ।

वडा प्राविधिक राम देवकोटाका अनुसार, करिब ३० लाख २६ हजार रुपैयाँको लागतमा सम्पन्न भएको यस आयोजनाबाट ४६ घरधुरीले प्रत्यक्ष रोजगारी पाएका छन् भने ८६ घरधुरीले सिँचाइ सुविधा प्रयोग गर्न सक्नेछन् । कुलोले करिब ९ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ पुर्‍याउनेछ ।

स्थानीय अगुवा कृषकहरूका अनुसार, सिँचाइ सुविधाले वार्षिक दुई बालीबाट तीन बाली लिन सकिनेछ । साथै, करेसाबारीमा सागपात, टमाटर जस्ता तरकारी उत्पादन बढेपछि पोषणमा समेत सुधार आउने विश्वास गरिएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise