काठमाडौं : पूर्वराष्ट्रपति विद्या भण्डारीले एमालेको राजनीतिमा औपचारिक रूपमा पुनरागमन गरेकी छन् ।
एमालेका जननेता मदन भण्डारीको ७४ औँ जन्मजयन्तीका अवसरमा शनिबार मदन भण्डारी फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले)की पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीले एमालेको सक्रिय राजनीतिमा आउने घोषणा गरेकी हुन् ।
अब आफू एमालेको परिवारको सदस्यको रूपमा पुनः जोडिएको भन्दै यसमा आफू गौरवान्वित भएको बताइन् । भण्डारीले भनिन् ‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट अलग भएपछि एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तर दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु ।’ उनले देश र जनताको सेवा गर्ने उद्देश्यले आफूले पार्टीको सदस्यता नवीकरण गरिसकेको बताइन् ।
मदन भण्डारीको भनाइलाई स्मरण गर्दै भण्डारीले जनता भगवान र राजनीतिमा थकाइ नहुने बताइन् । उनले राजनीतिक यात्रामा यहाँसम्म आउँदा धेरै कुरा बुझिएको, सिकाएको र परिपक्व बनाएको पनि बताइन् ।
उनको यो अभिव्यक्तिले एमालेको नेतृत्व गर्न सक्ने राजनीतिक परिपक्कताको सन्देश दिएको एमालेका नेताहरूले बताएका छन् । पार्टी राजनीतिमा उनको पुनरागमनलाई एमालेले स्वागत गरेको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । ‘उहाँले औपचारिक रूपमा एमालेको राजनीतिमा फर्किएको घोषणा गर्नुभएको हो भने भने हामी स्वगत गर्छौं । पार्टीमा आएर काम गर्छु, समय दिन्छु र पार्टीले जिम्मेवारी दिएको ठाउँमा काम गर्छु भन्ने जो कोहीलाई पार्टीले स्वागत नै गर्नुपर्छ ।’
२०७४ को निर्वाचनपछि पार्टीको उपाध्यक्षबाट राजीनामा दिदै राष्ट्रपति बनेकी उनी २०७९ को निर्वाचनपछि ७ वर्षे राष्ट्रपति कार्यकाल सकाएर शीतल निवासबाट निजि निवास फर्केकी थिइन् । त्यसयता सक्रिय राजनीतिमा आउने योजनासहित देशभर विभिन्न कार्यक्रमा भाषण गर्दै हिँडेकी भण्डारीले शनिबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अगाडि राखेर पार्टी राजनीतिमा फर्किएको बताइन् ।
‘समयको पदचापलाई राम्रोसँग बुझेर र त्यसलाई आत्मसात गरेर संयमतापूर्वक अग्रसर हुनुपर्दछ’, उनले भनेकी छन, ‘सदाझैँ सबैको सधैंभरि माया र विश्वास पाइरहेँ । जननेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादको मार्गदर्शनमा सामाजिक–आर्थिक रूपान्तरण गर्ने दायित्व बाँकी नै रहेको छ ।’
भण्डारीको यो कुटनीतिकपूर्ण अभिव्यक्तिले एमालेमा ठूलै झड्का लागेको नेताहरूले स्वीकार गरेका छन् । एमाले पोलिटब्युरो सदस्य कर्ण थापाले पूर्वराष्टपति पहिलादेखि नै राजनीतिमा सक्रिय रहेकाले यसमा कसैले शंका गर्ने ठाउँ नरहेको बताए । ‘भण्डारीको आजको सन्देशले उहाँको सक्रिय राजनीतिबाट देशकै नेतृत्व गर्न सक्ने क्षमता राख्नुु हुन्छ भन्ने पुष्टि गरेको छ ।’
भण्डारी राष्ट्रपतिको भूमिकाबाट बाहिर भएदेखि नै उनको राजनीतिक भविष्यबारे धेरैले चासो राख्दै आएका छन् । अझै राजनीतिक अभियान नै लिएर देश दौडाहामा निस्केपछि भण्डारीप्रति हेर्ने दृष्टिकोण पूर्णतया राजनीतिक नै बनेको छ । यसबाट पनि विद्या उत्साहित भएकी छन् । उनले सार्वजनीकरूपमा आएका फरकफरक प्रतिक्रियाहरूले औपचारिक रूपमै पार्टी राजनीतिमा आउन थप उत्साह बढाएको उनको विश्वास छ ।
एक महिलाले पार्टीको मूल नेतृत्व हुँदै देशकै नेतृत्व गर्ने आँट गर्नुलाई नेपाली राजनीतिमा सकारात्मक लिन सकिने राजनीतिक विश्लेषकहरू बताउँछन् । ‘एक हिसाबले हेर्दा राष्ट्रपति भइसकेको व्यक्ति फेरि राजनीतिमा फर्कनुले राम्रो सन्देश नदेला’, विश्लेषक विष्णु पन्थीले भने ‘अर्को कोणबाट हेर्दा एउटा महिलाले पार्टी नेतृत्व हुँदै देशकै कार्यकारी बन्ने सपना देख्नु नेपाली राजनीतिमा निकै सकारात्मक विषय हो ।’
भण्डारीको सक्रिय राजनीतिप्रति फरक फरक कोणबाट बहस भइरहेको छ । कतिपयले यसलाई वर्तमान अध्यक्ष केपी ओलीको विरूद्ध उठेको योजनाका रूपमा लिएका छन् भने केहीले कम्युनिष्ट आन्दोलनलाई संस्थागत गर्न स्वभाविक र सकारात्मक रूपमा लिएका छन् ।
एमालेका वरिष्ठ उापध्यक्ष इश्वर पोखरेलले पूर्वराष्ट्रपति भण्डारीलाई सल्लाह र समझदारीबाटै पार्टीको जिम्मेवारीबारे निर्णय हुने बताए ।
राजनीतिक मान्छे राजनीतिमा रूची राख्नु कुनै अनौठो नभएको भन्दै पोखरेलले भण्डारीका पक्षमा खुलेर चर्चा गरेका छन् । ‘पूर्वराष्ट्रपति राजनीतिमा आउने वा नआउने तपाईंहरूलाई सँगसँग होला । राष्ट्रपति दललाई नै प्रतिनिधित्व गरेर जानुभयो,’ उनले भने, ‘त्यहाँ गएपछि एउटा भूमिका पूरा गर्नुभयो, उहाँ पोलिटिकल मान्छे हो । यो कुरामा किन ‘इफ बट’ भनेको ? पोलिटिक्समा रुचि हुन्छ । गरेरै आएको मान्छे हो । यो कुन अनौठो कुरा हो ? यसलाई न्यारो ढंगले सोच्न हुँदैन ।’
तर एमाले अध्यक्ष ओलीले भण्डारीको राजनीतिक सक्रियताप्रति असन्तुुष्ट व्यक्त गरेका छन् । मदन भण्डारीको जन्मजयन्तीका कार्यक्रममा एउटै मञ्बाट असन्तुष्टिको संकेत गर्दै उनले मदन भण्डारीलाई लागेका केही आरोपबारे स्मरण गराउँदै मदनको व्यक्तिगत प्रसंग निकालेका ओलीले भने ‘चार वटी कि कतिवटा श्रीमती’ छन् भनेर आरोप लगाइयो । त्यसको प्रमाण कसले खोज्न जाने अब ? अनेक दुर्बाच्य बोलिए । सहकारीमा ठगेर हिँडेको हो भनेर आरोप लगाइयो । कुनै आधार, साइनो सम्बन्ध केही पनि थिएन ।’ मदन भण्डारीमाथि झुटा लाञ्छनाको श्रृङ्खला नै चलेको उनको भनाइ छ । ओलीले यो कार्यक्रममा यी विषय उठान गर्नु उचित नभए पनि भण्डारीको राजनीतिक सक्रियतामाथि प्रश्न उठाउने गरी ओलीले जानाजान यस्तो तर्क गरेको एमालेकै एकाथरी नेता कार्यकर्ताले टिप्पणी गरेका छन् ।
यसो भन्दै गर्दा मदन भण्डारीलाई सम्झिएर विद्याले नागरिकलाई आफ्नो अभियानमा जोडिन अपिल गरेकी छन्, ‘जननेताले भन्ने गर्नुहुन्थ्यो— जनता भनेका भगवान हुन् । साथै उहाँले भन्नुभएको थियो— राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन । आज तपाईँहरूका बीचमा हुँदा मदनका यी भनाईहरू मैले पुनः स्मरण गर्दै यहाँ उल्लेख गरेको छु ।’
राजनीतिमा थकाइ नहुने र आफू नथाकेको सन्देश दिएर नागरिकसँग अपिल गरेकी विद्याले आफू परिपक्क राजनीतिज्ञ हुँ भन्न छुटाएकी छैनन् ।