२०८२ कार्तिक १५ गते शनिवार / Nov 01 , 2025 , Saturday
२०८२ कार्तिक १५ गते शनिवार
Ads

अन्तर्राष्ट्रिय हिउँचितुवा संरक्षण कार्यशाला सुरु

shivam cement
२०८२ वैशाख १२ गते १६:०३
अन्तर्राष्ट्रिय हिउँचितुवा संरक्षण कार्यशाला सुरु

काठमाडौं : काठमाडौंमा ३ दिने ‘अन्तर्राष्ट्रिय हिउँचितुवा संरक्षण कार्यशाला’ शुक्रबार सुरु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको आयोजनामा सुरु कार्यशालामा १२ देशका वैज्ञानिकहरूले हिउँचितुवा संरक्षणमा गरिरहेको कामबारे जानकारी आदानप्रदान गर्नेछन् । 

कार्यशालामा चीन, भारत, भुटान, अफगानिस्तान, मंगोलिया, रसिया, उज्वेकिस्तान, ताजकिस्तान, कीर्गिस्तान र पाकिस्तानका हिँउचितुवा संरक्षण संस्था, वैज्ञानिक तथा विज्ञहरू सहभागी छन् ।

कार्यशालाको पहिलो दिन शुक्रबार हिउँचितुवा संरक्षणमा प्रयोग भएका प्रविधि र उक्त प्रविधि अनुसन्धानबारे अन्तरक्रिया भएको छ । दोस्रो दिन शनिबार हिउँचितुवा संरक्षणमा समुदाय र सरोकारवाला निकायको सहभागिता र अन्तिम दिन आइतबार हिउँ संरक्षणका नीति तथा संरक्षणका लागि सहकार्यको प्रभावबारे बृहत् छलफल हुनेछ ।
कार्यशालाको उद्घाटन गर्दै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सन् २०३० सम्म हिउँचितुवा

संरक्षणका लागि १ अर्ब ७७ करोड रुपैयाँ खर्च हुने बताएका छन् । यसका लागि मन्त्रालयले ‘हिउँचितुवा संरक्षण कार्ययोजना २०२४–२०३०’ कार्यान्वयनमा ल्याएको उनले बताए ।

‘यस कार्ययोजनाअनुसार काम सम्पन्न गर्न १ अर्ब ७७ करोड रुपैयाँ लाग्ने अनुमान गरेका छौं,’ उनले भने, ‘यसका लागि हिउँचितुवाको संरक्षणमा दीर्घकालीन योजनासमेत निर्माण गरेका हौं ।’

यसैगरी हालै मात्र सरकारले नेपालमा भएका हिउँचितुवाबारे ‘स्टाटस अफ स्नो लियोपार्ड पपुलेसन इन नेपाल २०२५’ रिपोर्ट सार्वजनिक गरेको थियो । रिपोर्टअनुसार नेपालमा हिउँचितुवाको संख्या ३९७ पुगेको छ । 

मन्त्री शाहीले भने, ‘हिउँचितुवाको कुनै देशको सीमाभित्र रहनुपर्छ भन्ने छैन । तसर्थ यसको बासस्थान सुधार तथा संरक्षणका लागि अन्तरदेशीय सहकार्य आवश्यक छ ।’

हिमाली रानी भनेर चिनिने हिउँचितुवा नेपालको उच्च हिमाली क्षेत्रको स्वच्छ पारिस्थितिकीय प्रणाली दर्शाउने सूचक रहेको र यसमा नेपालले राम्रो काम गरिरहेको उनको भनाइ छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर