२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

तरकारी खेतीबाट मनग्ये आम्दानी गर्दै पाण्डे

Nada
सूर्यप्रसाद भुसाल
२०८१ माघ १५ गते २१:४७
Shares
तरकारी खेतीबाट मनग्ये आम्दानी गर्दै पाण्डे

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीका दिपक पाण्डे पेसाले निजामती कर्मचारी हुन् । उनले  विभिन्न सिजन अनुसारका टिमुर, चिउरी, तेजपत्ताका बिरुवा तथा काउली, टमाटर, आलु, साग  बेचेर वार्षिक ६ लाख बढी आम्दानी गर्दै आएका छन् । 

ncell

विगत १०  वर्षदेखि व्यावसायिक रूपमा  टिमुरका बिरुवा, चिउरी, तेजपत्ता, प्याजका  बिरुवा उत्पादन गर्दै आएका उनी अहिले सन्धिखर्क बजार क्षेत्रका असल  बिरुवा उत्पादक  तथा तरकारी खेती गर्ने किसानका रूपमा परिचित छन् ।

सन्धिखर्क नगरपालिका वडा नम्बर २ चुत्राबेसी पुलचोक सालझन्डि सन्धिखर्क सडक छेउमा पाण्डेको  घर छ । करिब दुई  रोपनी जग्गामा  तरकारी खेती टिमुर, चिउरी,  प्याजका बिरुवा उत्पादन गर्न छुट्याएको र सो ठाउँमा खेती गरिएको  पाण्डेले बताए । 

लामो समयदेखि निरन्तर रूपमा नर्सरी तयार गरी विभिन्न जातका बिरुवा उत्पादन तथा बिक्री गर्दै आएको पाण्डेको भनाइ छ । उनका अनुसार बिरुवा तरकारी  बिक्री गरेर एक सिजनमा ६ लाख भन्दा बढी  आम्दानी हुने गरेको छ ।

‘बिरुवाहरु उत्पादन गर्न धेरै समय नलाग्ने, कम लगानीमा मनग्ये आम्दानी लिन सकिन्छ’, पाण्डेले  भने, ‘स्थानीय तथा बाहिरबाट आउने व्यापारीले यहाँबाट बिरुवा खरिद गरी लैजान्छन् । टिमुर, चिउरी तथा प्याज काउलीकाबिरुवा खरिद गर्न आउने ग्राहकले बन्दा, काउली, ब्रोकाउली, गोलभेँडालगायत बिरुवा खोज्ने भएकाले यी बिरुवा पनि उत्पादन गर्न  थालेको छु ।’  

पाण्डेका अनुसार प्याज मुट्ठीको ५० रुपैयाँ, काउली ५ रुपैयाँको  एउटा, हाइब्रिड बन्दा पाँचको एउटा, स्थानीय बन्दा पाँचको दुई वटा, ब्रोकाउली १० को एउटा र टिमुर ५० को एउटा भइरहेको छ ।

‘टिमुरका  बिरुवा उत्पादनलाई प्रमुख व्यवसाय बनाएको छु । यहाँ आउने ग्राहकको सजिलोका लागि अन्य तरकारीका बिरुवा पनि उमार्ने गरेको छु’, पाण्डेले भने, ‘एकै ठाउँमा आफूलाई चाहिएको सबै जातका बिरुवा पाइने भएपछि ग्राहकलाई पनि सहज भएको छ ।’

अफिस जानू भन्दा पहिला बिहान ६ बजेदेखि ९ बजे र बेलुका ४ बजेदेखि ७ बजेसम्म नर्सरीमा काम गरेको उनले बताए ।

उनले भने, ‘मेरो परिवारबाट पनि कामका लागि सहयोग भएको छ । हामी घरमा ३ जना सरकारी जागिरे छौं ।’

बिरुवा   खरिद गर्दा निकै झन्झटिलो हुने भएकोले अरुको  नर्सरीबाट बिरुवा किन्दा रोजेर चाहे जस्तो  लैजान नदिएपछि  आफैँले  बिरुवा उत्पादन थालेको पाण्डेले बताए ।

१ किलो टिमुरको  बिउबाट व्यवसाय सुरु गरेको भन्दै बिरुवा उत्पादन राम्रो हुँदै गएपछि क्षेत्रफल पनि बढाउँदै लगेको उनको भनाइ छ । 

यहाँ उत्पादित बिरुवा अर्घाखाँचीमै  खपत हुने गरेको छ । यसवर्ष  ५ देखि ६  आम्दानी हुने अनुमान गरिएको उनका छोरा राजु पाण्डेले बताए । बिरुवा  उखेल्ने र बिक्री गर्ने काममा पाण्डेको हो । उनी बिहान बेलुका  खटिएर काम गर्छन् । ‘हरियाली बिरुवा देखेपछि गाडी ल्याएर ग्राहक यही आउँछन् । हामीले तयारी बनाएर राखिदिने गरेका छौ’ उनले भने । 

सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा पनि उनको सुपा देउराली एग्रो फरेष्टी नर्सरी छ । 

उनकी श्रीमती कमला ओलिले पनि करिब एक रोपनी जग्गामा नर्सरी तयार पारेर बिरुवा उत्पादन गर्ने गर्छिन् ।  काउली, बन्दा, ब्रोकाउली, गोलभेँडा उत्पादन सँगसँगै हुने भएकाले एक सिजनमा  एक लाखबढी आम्दानी हुने गरेको पाण्डेले बताए  । तरकारी खेतीको तुलनामा छोटो समयमा बढी आम्दानी बिरुवाबाट  हुने भएकाले बिरुवा उत्पादनमा जोड दिएको उनको अनुभव छ । 

छोटो समयमा धेरै आम्दानी गर्न सकिने भएकाले पछिल्लो समय बिरुवा उत्पादनमा किसानको आकर्षण बढेको कृषि ज्ञान केन्द्रका प्रमुख बुद्धिराज घिमिरेले बताउँछन् । ठूलो परिमाणमा उत्पादन गर्ने किसानलाई ज्ञानकेन्द्रबाट  प्राविधिक  सहयोग गरिने उनको भनाइ छ । पाण्डे पाणिनी सबडिभिजन कार्यालय अर्घाखाँचीका प्रमुख तथा नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीका अध्यक्ष हुन् ।

ताजा खबर

सम्बन्धित खबर